काठमाडौं । नेपालका होटलहरूको कोठा भाडामध्ये रिसोर्टका कोठाहरू सबैभन्दा महँगो भएको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण–२०८० मा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो।
कार्यालयका अनुसार नेपालभर औसत रूपमा रिसोर्टका कोठाको भाडा ७ हजार ४ सय ५९ रुपैयाँ रहेको छ, जबकि तारे होटलको औसत कोठा भाडा ६ हजार ९ सय १६ रुपैयाँ मात्र रहेको देखिएको छ।
विशेष गरी कोशी प्रदेशमा रिसोर्टका कोठाहरूको भाडा तारे होटलको तुलनामा चार गुणासम्म महँगो भएको पाईएको छ। कोशी प्रदेशमा औसत रूपमा होमस्टे कोठाको भाडा १ हजार रुपैयाँ, लजको २ हजार ३ सय रुपैयाँ, तारे होटलको २ हजार ४ सय रुपैयाँ र रिसोर्टको कोठाको औसत भाडा ९ हजार २ सय ५ रुपैयाँ छ।
तर, बागमती प्रदेशमा भने तारे होटल रिसोर्टभन्दा महँगा छन्। बागमतीमा तारे होटलका कोठाको औसत भाडा ८ हजार २ सय रुपैयाँ छ, जबकि रिसोर्टको औसत भाडा ७ हजार २ सय रुपैयाँ मात्र छ। अन्य प्रदेशहरूमा भने रिसोर्टका कोठाहरू सबैभन्दा महँगा रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार, नेपालभर करिब १ लाख १६ हजारभन्दा बढी कोठा रहेका छन्। तीमध्ये, बागमती प्रदेशमा मात्र १ लाख ७५ ओटा कोठा छन्। बागमतीमा तारे होटलका ८ हजार ४ सय ९६ कोठा छन् भने बाँकी साना होटल तथा रिसोर्टका कोठा रहेका छन्।
सर्वेक्षणले नेपालका ६३ प्रतिशत होटल तथा रेस्टुरेन्टहरू वैध रूपमा दर्ता नगरिएको पनि देखाएको छ, जसले होटल व्यवसायमा अझै धेरै सुधार र व्यवस्थापनको खाँचो रहेको औंल्याएको छ।