काठमाडौं । नेपाल स्टक ब्रोकर्स एशोसिएशनका नवनियुक्त अध्यक्ष सागर ढकालले आफ्नो कार्यकालभर नीतिगत सुधारमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले बिहीबार अध्यक्षको पदभार ग्रहण गर्दै अहिले धितोपत्र दलाल व्यवसायीका धेरै नीतिगत समस्या रहेको भन्दै अबका दिनमा त्यसलाई सुधार गर्दै व्यवसायी मैत्री वातावरण निर्माण गर्ने बताए ।
‘सरकारी नीतिगत झण्झटका कारण हामी व्यवसायीले सरकारले ल्याउने हरेक बजेट र आर्थिक ऐन तथा अन्य नीतिगत परिवर्तनमार्फत समस्याहरु झेल्दै आउनु परेको छ,’ पदभार ग्रहण कार्यक्रममा उनले भने, ‘अबको दुई बर्षमा स्टक ब्रोकर र लगानीकर्ताका समस्याहरु सरकारलाई बुझाएर दिर्धकालिन रुपमै समाधान निकाल्नेछु ।’
उनले अहिले नेपाली पूँजी बजार सेयर खरिदबिक्रीमा मात्रै सीमित रहेको भन्दै अबका दिनमा नेपाल धितोपत्र बोर्ड र सरकारसँगको सहकार्यमा मार्जिन ट्रेडिङ्ग, इन्ट्रा डे तथा सर्ट सेलिङ्ग एवं इक्विटि डेरिभेटिभका साथै अन्य वित्तीय औजारहरु कार्यान्वनयमा ल्याउने समेत जानकारी दिए ।
‘धितोपत्र दलाल व्यवसायीहरु लगानी व्यवस्थापन सेवा, लगानी एड्भाइजरी सेवा, मार्जिन लेण्डिङ्ग सेवा, प्रत्याभूति सेवाका साथै योग्य संस्थागत लगानीकर्ताको रुपमासमेत सक्षम छन्,’ उनले भने, । साथै अहिले लगानीकर्ताले २ वटा मात्र डिम्याट खाता खोली सेयर कारोबार गर्न पाउने व्यवस्था रहेकोमा अबका दिनमा त्यसलाई हटाउँदै आवश्यकताको आधारमा खोल्ने पाउने व्यवस्थाका लागि पहल गरिने समेत जानकारी दिए ।
हाल पूँजी बजार अन्तरगत हुने कारोबारमा देखिएको विकृति तथा विसंगतिहरुको न्यूनीकरण सरोकारवाला निकायसँग गरिने भन्दै धितोपत्र दलाल व्यवसायीलाई हेर्ने नजरमा समेत परिवर्तन गर्नु जरुरी रहेको उनको भनाई थियो । ‘अहिले पनि हामी व्यवसायी माथि विभिन्न खालका लान्छानाहरु लाग्दै आएका छन् र बजारले पनि त्यस्तैगरी हेरिरहेको छ,’ उनले भने, ‘कतिपय अवस्थमा हामी व्यवसायीहरु सुध्रिनुपर्ने जरुरी छ भने कतिपय हाम्रा समस्याहरुको बारेमा अन्य निकायलाई बुझाउँदै सुधार गर्नुपर्नेछ ।’
यसैगरी धितोपत्र दलाल व्यवसायी कम्पनीका सेयरधनीहरुलाई डिस्क्लोजर सहित आफ्नै संस्थाबाट सेयर खरिदबिक्री गर्न पाउने व्यवस्था लागू गर्न सम्बन्धित निकायसँग पहल गरिने समेत उनको भनाई थियो । साथै अहिले ब्रोकर कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जसमक्ष बैंक ग्यारेन्टी राखी सोको २५ गुणा सम्म कारोबार लिमिट प्राप्त गरिरहेकोमा अबका दिनमा यस्तो सीमालाई ५० गुणासम्म बनाउनका लागि सम्बन्धित निकायसँग लविङ गरिने समेत जानकारी दिए । यसैगरी अहिले नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यवसायीक संस्थाको कार्ड बोकेर सिंहदरबार लगायत सरकारी निकायमा सहजरुपमा प्रवेश पाईरहेको भन्दै केही समयभित्र स्टक ब्रोकर एशोसिएशनले जारी गरेको कार्ड देखाएर त्यस्ता निकायमा सहजै प्रवेश गर्न पाउने व्यवस्था गरिने समेत उनको भनाई थियो ।
एशोसिएशनको ३०औं साधारणसभाले चयन गरेका ९ सदस्यीय नयाँ कार्यसमितिले बिहीबार मात्रै शपथ ग्रहण र प्रमाणपत्र ग्रहण गरेका छन् । साधारणसभाले एशोसिएशनको अध्यक्षमा सागर ढकाललाई चयन गरेको थियो । यस्तै कार्यसमिति उपाध्यक्षमा नितेश अग्रवाल, महासचिव भक्तिराम घिमिरे, कोषाध्यक्ष मदन पौडेल र सचिवमा विनय पौडेल निर्वाचित भएका छन् । सदस्यमा विशालकुमार अग्रवाल, प्रियन्सु अग्रवाल, जयन्त श्रीवास्तव र जेलिना कँडेल निर्वाचित भएका थिए ।