काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलोन मस्कको सम्पत्ति ‘दिन दोब्बर र रातमा चौगुना’ बढ्दै गएको छ । यी अमेरिकी व्यवसायको सम्पत्तिले केही दिनमै ४०० अर्ब डलरभन्दा बढी पुगेको हो । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्सका अनुसार आज अर्थात बिहीबार मस्कको नेटवर्थ बढेर ४४७ अर्ब डलर पुगेको छ । उनी ४०० अर्ब डलरको आँकडा पार गर्ने विश्वकै पहिलो व्यक्ति बनेका छन् ।
मस्ककोे कुल सम्पत्ति भारत र एसियाका सबैभन्दा धनी मुकेश अम्बानीको भन्दा चार गुणा बढी भएको छ । मुकेश अम्बानीको कुल सम्पत्ति ९७.१ बिलियन डलर छ । यस्तै अर्का भारतीय अर्बपति गौतम अडानीको कुल सम्पत्ति ७९.३ बिलियन डलर छ । विश्वको दोस्रो धनी व्यक्ति अमेजनका जेफ बेजोसको कुल सम्पत्ति मस्कको भन्दा निकै कम छ । बेजोसको कुल सम्पत्ति २४९ डलर छ ।
एकै दिनमा ६३ अर्ब डलर कमाए
मस्कले पछिल्लो २४ घण्टामा ६२.८ बिलियन डलर कमाइसकेका छन् । उनको एक दिनको कमाई विश्वका धेरै अर्बपतिको भन्दा बढी छ । ब्लूमबर्ग बिलियनियर्स इन्डेक्सका अनुसार विश्वको २३ औं धनी व्यक्तिको कुल सम्पत्ति ६३.२ बिलियन डलर छ । यस्तो अवस्थामा हेर्ने हो भने उनको एक दिनको कमाइले विश्वका कैयौं धनीहरुको कुल सम्पत्तिलाई पछाडि छोडेको छ ।
यो वर्ष मस्कले अहिलेसम्म २१८ अर्ब डलर कमाइसकेका छन् । यदि उनको एक वर्षको कमाईलाई उनको कुल कमाई मान्ने हो भने उनी विश्वको चौथो धनी हुनेछन् । २ सय अर्ब डलरभन्दा बढीको कुल सम्पत्तिको हिसाबले एलोन मस्कपछि दुई जना मात्र छन् । यसमा जेफ बेजोस र मेटाका मार्क जुकरबर्ग छन् । जुकरबर्गको कुल सम्पत्ति २२४ बिलियन डलर छ ।