Logo

जनवरीदेखि चीनबाट इन्टरनेट ल्याउने तयारी, हालको भन्दा तिव्र र सस्तो

जनवरीदेखि चीनबाट इन्टरनेट ल्याउने तयारी, हालको भन्दा तिव्र र सस्तो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले आगामी जनबरीदेखि नेपालमा चीनबाट इन्टरनेट ल्याउने तयारी शुरु गरेको छ । डिसेम्वरमा परिक्षण र जनवरी १ देखि सर्वसाधारणले प्रयोग गर्न पाउने गरी इन्टरनेट ल्याउन तयारी थालिएको नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन् । टेलिकम र चाइना टेलिकम ग्लोवलबीच हालै रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई स्थलमार्गवाट जोड्ने तथा नेपाललाई आईपी सर्भिस उपलब्ध गराउने सम्झौता भएसँगै तयारी तिव्र गरिएको हो ।

अहिले नेपालले भारत हुँदै आएको इन्टरनेट प्रयोग गरिरहेको छ । नेपालले भारतको चेन्नई हुँदै समुन्द्रीमार्गबाट हङकङमा रहेको डेटा सर्भरमार्फत विश्वसँग टेलिकम्युनिकेसनमा जोडिएको छ । वैद्यका अनुसार सो सर्भरमा चीनबाट जोडिदा दूरी कम पर्छ । जसले गर्दा इन्टरनेटको गति पनि तिव्र हुने छ ।

चीनबाट इन्टरनेट ल्याएसँगै हालसम्म एउटै देशसँगमात्र भएको कनेक्टिभिटी अन्त्य हुने टेलिकमका सहायक प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । ‘जसले गर्दा भारतबाट नेपालमा ल्याइएको इन्टरनेट सेवा बन्द भएमा वा प्राविधिक समस्या आएको अवस्थामा विकल्प हुन्छ,’ अधिकारीले भने,‘साथै भारतसँगको परनिर्भरता हटनेछ।’

त्यस्तै नेपालमा चल्ने इन्टरनेटमा नोइज कम भई डेटा स्पीड बढ्ने बताइएको छ । त्यसैगरी प्रतिशपर्धा बढ्दा उपभोक्तालाई इन्टरनेटको शुल्क पनि सस्तो पर्ने बताइएको छ ।

नेपालमा एक वर्ष अघि नै चीनबाट इन्टरनेट ल्याउन काम सुरु भएतापनि भूकम्पका कारण अड्किएको थियो । टेलिकमले धादिङको गल्छीबाट रसुवागढीसम्म इन्टरनेट ल्याउनका लागि अप्टिकल फाइभर जडान गरिसकेको जानकारी दिएको छ । चीनसँग जोडिएको सो अप्टिकल फाइवरले विश्वव्यापी इन्टरनेट कनेक्सनका लागि सहयोग पुग्ने छ ।

चीनबाट ल्याइने इन्टरनेट कतिको तीब्र गतिमा चल्छ भन्नेबारे भने परीक्षणपछी मात्र थाहा हुने अधिकारीले जानकारी दिए । त्यस्तै चीनबाट ल्याउने इन्टरनेटको मूल्य निर्धारण भइनसकेको अधिकारीले बताए।

हाल भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबर ल्याइएको उनले बताए । नेपालले अहिले भारतको बिएसएनएल, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्