Logo

जेठबाट संचालनमा आउँदै होटल अकामा, जीवा लामिछानेलगायत ९ जनाको लगानी

जेठबाट संचालनमा आउँदै होटल अकामा, जीवा लामिछानेलगायत ९ जनाको लगानी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष जीवा लामिछानेलगायतका टीमले होटल संचालनमा ल्याउने भएका छन् । उनीहरुले काठमाडौंमा होटल ‘अकामा’ संचालनमा ल्याउन लागेका हुन् ।

होटल संचालनका लागि उद्योग विभागमा दर्ता प्रक्रिया अघि बढाएको विभागले जानकारी दिएको छ । कम्पनीले मंसिर ७ गते उद्योग विभागमा होटल दर्ता गराएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले बताए ।

कम्पनीले काठमाडौंको धुम्वाराहीमा होटल सञ्चालन गर्ने गरी पूर्वाधार निर्माणका काम समेत अघि बढाएका हुन् । होटललाई आगामी ६ महिनाभित्र सञ्चालनमा ल्याउन उद्देश्य सहित काम थालिएको कम्पनी सचिव प्रधुम्न जोशीले बताए । ‘अहिले होटलका पूर्वाधारहरु तयार गर्ने काम भइरहेको छ,’ उनले भने, ‘आगामी जेठबाट सञ्चालनमा ल्याउने छौं ।’

उनका अनुसार धुम्वाराहीस्थित ८ रोपनी क्षेत्रफलमा होटल निर्माण भइरहेकोे छ । होटलको कुल ५० करोड रुपैयाँको लगानीमा निर्माण गरिने भएको छ । कम्पनीले नेपाल भित्र कुनै पनि स्थानमा उक्त होटलको शाखा कार्यलय समेत खोल्न मिल्ने गरी विभागबाट स्वीकृति लिएको छ ।

होटल सञ्चालकहरुमा एनआरएनएका पूर्व अध्यक्ष जीवानाथ लामिछाने, विनयकुमार श्रेष्ठ, गीता श्रेत्री, खेमराज लामिछाने, सानिमा प्रालिका अरुणकुमार ओझा लगायत ९ जना रहेका छन् । सो होटल सानिमा प्रालीका अरुणकुमार ओझाको नाममा दर्ता गरिएको छ । होटलमा २ सय बेड र १ सय सीटको रेष्टुराँ रहने छ ।

होटल सञ्चालनमा आएसँगै ८६ जनाले रोजगारी पाउने छन् । होटलमा लज, रेष्टुराँ, बार, क्याफे, क्याटरिङ लगायत सेवा उपलब्ध हुनेछन् । त्यसैगरी सभा, सम्मेलन तथा सेमिनारहरुका लागि पनि हलको व्यवस्था गरिएको उनले जानकारी दिए ।

होटलमा स्वदेशी तथा विदेशी पाहुनालाई हस्पिटालिटी सम्बन्धी आवश्यक परामर्श तथा सेवा उपलब्ध गराइने छ । त्यस्तै पाहुनालाई खाना, भ्रमणका साथै अन्य सेवा उपलब्ध समेत गराइने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्