काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन)ले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पर्ख र हेरको रणनीति अवलम्बन गरेको बताएको छ। परिसंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको समीक्षाले वर्तमान आर्थिक अवस्था र व्यवसायिक गतिविधिलाई सम्बोधन गर्न पर्याप्त कदम नचालेको भन्दै आगामी निर्देशन र समीक्षामार्फत थप लचिलो नीति अवलम्बन गर्ने अपेक्षा व्यक्त गरेको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार बिहान चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। परिसंघले राष्ट्र बैंकको विशेष पहलबाट अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार देखिएको भए पनि आन्तरिक सूचकहरू भने कमजोर बन्दै गएको उल्लेख गरेको छ।
परिसंघका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा तरलता प्रशस्त रहे पनि कर्जा प्रवाह र पूँजी परिचालनमा अपेक्षाकृत सुधार देखिएको छैन। निजी क्षेत्रको मनोबल खस्किएको, आन्तरिक मागमा कमी आएको, र पूँजीगत खर्चको गति सुस्त रहेको वर्तमान परिस्थितिमा मौद्रिक नीतिले समयानुकूल सुधार आवश्यक रहेको परिसंघको धारणा छ।
परिसंघले मौद्रिक नीतिले प्रारम्भिक रूपमा उत्साह जगाए पनि पछिल्लो समीक्षाले विगतकै कार्यदिशालाई निरन्तरता दिएको बताएको छ। बैंक तथा वित्तीय संस्थाहरूका निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिमा वृद्धि भइरहेको अवस्थामा नीतिगत सुधारमार्फत आर्थिक गतिविधिहरूमा गति दिनुपर्ने परिसंघको तर्क छ।
सीबीफिनले नेपालले हालै सार्वभौम साख मूल्याङ्कनमा प्राप्त गरेको सकारात्मक नतिजाले लगानी विस्तार र कर्जा प्रवाहका लागि अवसर सृजना गरेको उल्लेख गर्दै, आगामी त्रैमासिक समीक्षाले थप लचिलो नीति अपनाउने विश्वास व्यक्त गरेको छ।