काठमाडौं । सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७ सय ६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्ता जोडिएका छन् । कोषले सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार तथ्यांक सार्वजनिक गर्दै औपचारिकतर्फ ५ लाख ४३ हजार ४ सय ९१ जना जोडिएको बताएको छ । वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६ सय १५ छन्। यसैगरी स्वरोजगारमा २२७ जना र अनौपचारिकतर्फ ३०७ जना आबद्ध छन् ।
कोषमा अहिलेसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ। कोषले अहिले ५ सय ८७ योगदानकर्ताका आश्रित परिवारलाई ४ हजारदेखि १ लाख ५७ हजार ५ सय रुपैयाँसम्म अहिले मासिक निवृत्तिभरण दिँदै आएको छ। यसबाहेक सन्तति हुनेले शैक्षिक वृत्ति अन्तर्गत अन्तिम आधारभूत पारिश्रमिकको ४० प्रतिशत हुन आउने रकम २१ वर्ष नपुगेसम्म प्राप्त गर्ने व्यवस्था छ।