Logo

मेलम्चीको नक्कली सुनदेखि लगानी सम्मेलनसम्म, यस्ता छन् साताभरका ‘बिजनेस इस्यु’

मेलम्चीको नक्कली सुनदेखि लगानी सम्मेलनसम्म, यस्ता छन् साताभरका ‘बिजनेस इस्यु’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मेलम्चीको सुरुङ निर्माणका क्रममा फेला परेको पहेलो बस्तु सुन नभएको तथ्य यो साता बाहिर आयो । सबै किसिमका सञ्चार माध्यमका लागि यो हट न्युज पनि बन्यो । बिजनेस समाचार प्रकाशन प्रसारण गर्ने मिडियाले पनि यसलाई उत्तिकै महत्व दिए ।

अघिल्लो साता निरन्तर ओरालो लागेकै कारण निकै चर्चाको विषय बनेको सेयर बजार यो साता पनि उत्तिकै चर्चामा रह्यो । तुलनात्मक रुपमा परिसुचक बढेपनि यो साता सेयर बजारको उतार चढाव कायमै रह्यो । साना लगानीकर्ताका लागि उतारचढाव तनावकै विषय बन्यो । फेरी एक पटक सेयर बजामा प्रवेश गर्दा अपनाउनुपर्ने सुत्रहरु सञ्चारमाध्यममा गज्जबका ‘टिप्स’ बने । यो साताको अन्त्यतिर धितोपत्र बोर्डले दश कित्ताभन्दा कम सेयर पनि बिक्रि गर्न पाउने नियम ल्याएपछि यो विषय पनि चर्चामै रह्यो ।

जुत्ता मेला तथा विभिन्न ठाउँमा चलेका व्यापार तथा औद्योगिक मेलाले पनि सञ्चारमाध्यममा स्थान पाए । भृकुटीमण्डपको जुत्ता मेलादेखि भक्तपुर र पोखरामा सुरु भएको व्यापार मेलालाई सञ्चारमाध्यमले आफ्नो बिजनेस समाचार बनाएका छन् ।

लोडसेडिङ र प्रतिबन्धित भारतीय नोटको ‘फलो अप न्युज’ पनि यो साता पनि देखिए । भारतबाट विद्युत आयात गरेर हिउँदको पुरा समय काठमाडौंमा लोडसेडिङ् हुन नदिने र हिउँदमै बढीमा तीन चार घण्टासम्म लोडसेडिङ् हुने जस्ता दुई किसिमका समाचारमा सञ्चारमाध्यम बाँडिए । प्रतिबन्धित भारतीय नोट नेपालमा सटही गर्ने व्यवस्थाका विषयमा अझै अन्यौलता बाँकी रहेको तथा भारतीय पक्षबाट अझै पनि सकारात्मक रहन दिएको आश्वासनले पनि पत्रपत्रिका, अनलाइन तथा टेलिभिजनमा बिजनेस समाचारको ठाउँ पाइरह्यो ।

निर्माण व्यवसायीको साधारणसभा पनि यो साता बिजनेस इस्यु बन्यो । बैङ्करलाई आमन्त्रण गरेर साना तथा मझौला उद्योगमा सहज कर्जा प्रवाहका लागि उद्योगमन्त्रालयले गरेको छलफलले पनि विशेष स्थान बनायो ।

त्यस्तै आगामी फागुन तेस्रो साता उद्योग मन्त्रालयले काठमाडौंमा आयोजना गर्न लागेको लगानी सम्मेलन २०१७ पनि निकै चर्चामा रह्यो । विभिन्न देशशका तीन सय बढी लगानीकर्ता नेपाल आउने तथा उनीहरुको लगानीको प्रतिबद्धता जनाउने जस्ता विषयले पनि सम्मेलनको समाचारले महत्व पायो ।

प्रतिक्रिया दिनुहोस्