काठमाडौं । स्टक ब्रोकर एशोसिएशनले सर्वसम्मतिमै नेतृत्व चयन गर्ने भएको छ । अघिल्लो हप्ता धितोपत्र ब्रोकर एशोसिएशन नेपाल र स्टक ब्रोकर एशोसिएशन नेपाल एक आपसमा मर्जर भएसँगै स्टक ब्रोकरको नामबाट संस्था संचालन भएको थियो ।
दुई संस्था एक आपसमा मर्जर भएसँगै ब्रोकर तथा लगानीकर्ताको हितका लागि एक भएर नीतिगत रुपमा लबिङ गर्नका लागि सर्वसम्मतिमा नेतृत्व चयन गर्ने सहमति भएको स्टक ब्रोकर एशोसिएशन स्रोतले जानकारी दिएको छ । उक्त संस्था एक आपसमा मर्जर भएसँगै नयाँ नेतृत्व चयनका लागि यहिँ मंसिर २० र २१ गतेका लागि साधारण सभा आव्हान गरेको थियो । तर उक्त साधारणसभा अघि नै सर्वसम्मतिमा नेतृत्व चयन गर्नेगरी अहिले देखिनै छलफल अघि बढाइएको उक्त स्रोतले जानकारी दिएको छ ।
दुई संस्था एक आपसमा मर्ज भएसँगै कसरी नेतृत्व चयन गर्ने भन्ने सम्बन्धमा हिजो (बिहीबार) पनि छलफल भएको थियो । उक्त छलफलले नयाँ र पुराना ब्रोकरबाट प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरुको संख्या टुङ्गो लगाएको छलफलमा सहभागी एक ब्रोकरले जानकारी दिए ।
हाल स्टक ब्रोकर एशोसिएशनमा ५ पदाधिकारी सहित ९ सदस्यीय कार्यसमिति रहेको छ । जसमा नयाँबाट दुई पदाधिकारी र दुई सदस्य सहित चार जना कार्यसमितिमा सहभागि हुने छन् भने पुरानाबाट तीन पदाधिकारी र दुई सदस्य सहित पाँच जना कार्यसमितिका सहभागि हुने छन् । तर, पदाधिकारी र सदस्यमा को को चयन गर्ने भन्ने विषयमा केही दिनभित्रै टुङ्गो लगाईने समेत ती ब्रोकरले जानकारी दिए ।
‘हाम्रो अहिलेको माग भनेको एशोसिएनमा कसले प्रतिनिधित्व गर्ने भन्दा पनि ब्रोकर तथा लगानीकर्ताको हकहितमा काम गर्नका लागि सरकारसँग लबिङ गरेर व्यवसायीमैत्री कानून निर्माण गर्नु हो,’ ती ब्रोकरले भने, ‘सोही अनुरुप संस्थालाई समय दिएर उक्त काम गर्न सक्ने व्यक्तिलाई अघि बढाएर सबै एक भएर सर्बसम्मतिमा कार्यसमिति चयन गर्दैछौं ।’