काठमाडौं । नेपालमा हुने धेरैजसो सामाजिक संजालबाट हुने शंकास्पद कारोबारमा १९ देखि २४ बर्षका युवा विद्यार्थीहरु बढी संलग्न भएको पाईएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको स्ट्राटेजिक एनालाइसीस रिपोर्ट, २०२४ प्रतिवेदनले यस्तो देखाएको हो । । प्रतिवेदनमा सन् २०२४ को पहिलो पाँच महिनामा प्राप्त भएका साइबर इनेबल्ड फ्रड्स सम्बन्धी शङ्कास्पद कारोबार विवरणको विस्तृत रूपमा विश्लेषण गरिएको छ ।
उक्त विश्लेषणबाट यस प्रकारको शङ्कास्पद कारोबारमा १९–२४ वर्ष उमेर समूहका व्यक्ति र पेसामा विद्यार्थी उल्लेख गरेका व्यक्तिहरू सबैभन्दा बढी संलग्न रहेको देखिएको हो ।
यसै गरी, अधिकांश शङ्ककास्पद खातामा त्यस्तो खाता सञ्चालन भएको तीन महिनाभित्र शङ्कास्पद कारोबार भएको पाइएको छ । साइबर प्रविधिमा आधारित ठगीका लागि मुख्य रूपमा गिफ्ट, पार्सल, सोसल मिडिया इम्पर्साेनेसन, नक्कली अनलाईन बिजने प्लाटफर्म, ओटीपी फ्रड, लट्री फ्रडलगायतका तरिकाको प्रयोग भएको पाइएको छ ।
यस वर्ष साइबर प्रविधिमा आधारित ठगीका विषयमा तयार पारेको प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १०(१) को खण्ड (झ) मा सम्पत्ति शुद्धीकरण तथा आतड्ढवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको प्रकार, कसूर गर्ने प्रविधि, पद्धति तथा प्रवृत्ति समेतका विवरण संलग्न गरी आफ्नो काम कारबाही सम्बन्धी वार्षिक प्रतिवेदन राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ ।
प्रतिवेदनमा साइबर इनेबल्ड फ्रड्सका विशेषता र साइबर इनेबल्ड फ्रड्समार्फत प्राप्त सम्पत्तिको शुद्धीकरणमा प्रयोग गरिने पद्धतिको चर्चा गरिएको छ । साथै, प्रतिवेदनमा ती ठगीमा सामाजिक सञ्जाल र भुक्तानी प्रणालीमा रहेका विशेषताको दुरुपयोगको विषयमा समेत विश्लेषण गरिएको छ
प्रतिवेदनको निष्कर्षका आधारमा साइबर प्रविधिमा आधारित ठगी न्यूनीकरण गर्न सूचक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय, अनुसन्धानकारी निकाय र नियामक तथा सुपरिवेक्षकीय निकायलाई आवश्यक सुझावहरू सिफारिस गरिएको छ ।
प्रतिवेदनको अनुसूचीमा सूचक संस्थाका लागि साइबर प्रविधिमा आधारित ठगी सम्बन्धी रेड फ्ल्याग्सको सूची प्रस्तुत गरिनुका साथै उक्त ठगी न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय जगतमा भएका प्रयासका बारेमा समेत चर्चा गरिएको छ ।