Logo

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै

बाढीले परियोजना बगाएर खण्डहरमा परिणत ‘माण्डु हाईड्रो’, बजारमा सेयरले सर्किट हान्दै



काठमाडौं । गएको असोज ११ र १२ गतेका दिन परेको अविरल वर्षाका कारण देशभरका विद्युतगृहमा ठुलो क्षति पुग्यो । त्यसमध्ये सबैभन्दा बढी क्षति पुग्ने जलविद्युत आयोजना भने माण्डु जलविद्युत आयोजना थियाे ।

बागमती खोलामा आएको बाढी तथा पहिरोले आयोजनाको पावर हाउस तथा हेड वर्क्समा रहेको भौतिक संरचना लगायत उपकरणहरु नै बगाईदिएको थियो । यसका साथै प्लान्ट सञ्चालन अवरुद्ध भइ काबुभन्दा बाहिरको स्थिति श्रृजना भइ विद्युत उत्पादनसमेत हालसम्म हुन नसकेको अवस्था छ । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई नै पत्र लेख्दै उत्पादन नै रोकिएको जानकारीसमेत गराएको थियो ।

यसरी खण्डहर बनेको आयोजनाबाट हालसम्म विद्युत उत्पादनको आश भने मरिसकेको छ । तर, नेप्सेमा सूचिकृत कम्पनीको सेयर भने दिनहुँ उकालो लाग्दो क्रममा रहेको छ । आयोजना खण्डहर भएपनि कम्पनीको सेयरमा आईतबार सर्किट लेभलमा कारोबार भइरहेको देखिन्छ । नेप्सेका अनुसार यसअघि गत हप्ताको बिहीबारसमम्ममा प्रतिकित्ता सेयरको मूल्य ९ सय ५० रुपैयाँ रहेकोमा यो हप्ताको पहिलो दिन आईतबार नै बढेर १ हजार २० रुपैयाँसम्म पुगेको छ ।

अर्थात बिहीबार मात्रै कम्पनीको सेयरमूल्य ७० अंकले बढिसकेको छ । कम्पनी खण्डहर भएकै अवधि अर्थात असोज २९ गते पनि कम्पनीको सेयर नेप्सेमा प्रतिकित्ता ८ सय ७३ रुपैयाँमा कारोबार भईरहेको थियो । त्यसयता कम्पनीको सेयर करिव १ सय ४० अंक बढीले बढिसकेको छ । अझ भनौ कम्पनीको सेयर आयोजना बाढिले बगाएयता लगातार उकालो लागिरहेको देख्न सकिन्छ ।

कम्पनीले २०८० असार २८ देखि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि प्रिमियममा आइपीओ जारी गरेको थियो । यसले १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आईपीओ बिक्रीमा ल्याएको थियो । त्यसयता उत्तारचढाव भईरहेको कम्पनीको सेयरमूल्य पछिल्लो समय लगातार उकालो लाग्ने क्रममा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्