काठमाडौं । बिटक्वाइनको मूल्यमा नयाँ रेकर्ड कायम भएकोछ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमनसँगै क्रिप्टो बजार सकारात्मक लयमा देखिएको छ । यसैक्रममा बिटक्वाइनको मूल्यले तीव्र गतिमा उचाइ लिँदै २ प्रतिशतले वृद्धि गर्यो र ८९ हजार ३३८.२० डलरको मूल्यमा पुगेको छ । मंगलबार स्टक बजार बन्द हुनु अघि यसको मूल्य ९० हजार ३६.१७ डलर छुन सफल भयो । चुनावपछिको दुई दिनमै बिटक्वाइनले ८० हजार डलर नाघेको थियो र यस वर्षको अन्त्यसम्म १ लाख डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
नोभेम्बर ५ मा चुनावी दिनमा बिटक्वाइनले मार्चयता पहिलो पटक नयाँ कीर्तिमान राख्दै ३३ प्रतिशत वृद्धि गरेको थियो । एचसी वेनराइटका विश्लेषक माइक कोलोनिसका अनुसार, ‘ट्रम्पको पुनरागमनसँगै बिटक्वाइनले ऐतिहासिक उचाइ पार गरेको छ। यसले नयाँ मूल्य खोजीको चरण सुरु गरेको छ, र सकारात्मक भावना यस वर्षको बाँकी समयसम्म रहनेछ ।’
ट्रम्पले क्रिप्टो व्यवसायलाई सहयोग पुर्याउने नियामक वातावरणको प्रतिबद्धता जनाएपछि, क्रिप्टो लगानीकर्ताहरूमा नयाँ उत्साह थपिएको छ । बिटवाइज एसेट म्यानेजमेन्टका प्रमुख लगानी अधिकारी म्याट हाउगनले भने, ‘ट्रम्पको नीति परिवर्तनले क्रिप्टो बजारलाई सकारात्मक वातावरणमा ल्याएको छ । अब हामी बलियो नियामक आधारमा छौं, जसले हामीलाई थप उचाइमा पुर्याउनेछ ।’ अन्य क्रिप्टो बजारमा थोरै घटबढ देखिए पनि बिटक्वाइनको मूल्य लगातार उकालो लाग्दैछ । विश्लेषकहरूका अनुसार, यसले अझै उच्च उचाइ लिने संकेत देखाएको छ ।
बिटक्वाइनको सकारात्मक गति आगामी महिनाहरूमा पनि जारी रहने अपेक्षा गरिएको छ । एचसी वेनराइटका विश्लेषक माइक कोलोनिसका अनुसार, ‘बिटक्वाइन अहिले मूल्य खोजीको चरणमा छ, सबै समयको उच्च स्तरलाई पछाडि पार्दै गएको छ । सकारात्मक भावना यो वर्षको बाँकी समयसम्म रहने देखिन्छ, र बिटक्वाइनको मूल्य १ लाख डलरको नजिक पुग्न सक्छ ।’
अन्य क्रिप्टो बजारमा भने यस दिन मूल्यमा थोरै घटबढ देखियो । पछिल्लो सातामा ५७ प्रतिशतले बढेको मेमेकोइन शिबा इनु ४ प्रतिशतले घटेको छ भने डोजक्वाइनले १७ प्रतिशतले वृद्धि गर्दै सबैभन्दा राम्रो प्रदर्शन गरेको छ । एलन मस्कसँगको सम्बन्धका कारण डोजक्वाइनले चुनावी नतिजापछि १२५ प्रतिशतले वृद्धि गरेको छ ।
स्टक बजारमा माइक्रोस्ट्राटेजीको सेयरले झिनो घाटा खेपेर अन्ततः ५ प्रतिशतले उकालो लागेको छ। कोइनबेसको मूल्य १.५ प्रतिशतले घटेको भए पनि सोमबार यसले १९ प्रतिशतले वृद्धि गर्दै २०२१ यताकै उच्चस्तरको नजिक पुगेको थियो। विश्लेषकहरूका अनुसार, बिटक्वाइनको यो उछाल यात्रा अझै सुरुवातमा मात्र रहेको छ । ‘७२ हजार डलर र १ लाख डलरको बीचमा बिटक्वाइनको लागि कुनै अवरोध देखिँदैन,’ हाउगनले भने, ‘अहिलेको बजार चक्र नयाँ उचाइमा प्रवेश गर्दैछ र बजारमा बेच्नेहरूको कमीका कारण यो अझै माथि जानेछ । यद्यपि, यसमा उतारचढाव सम्भावना रहन्छ तर हाम्रो दृष्टिकोण सकारात्मक छ र उकालोमै रहनेछ ।’एजेन्सी