Logo

५० करोड लगानी थप्दै अविनाश ह्याचरी, दैनिक १ लाख चल्ला उत्पादन

५० करोड लगानी थप्दै अविनाश ह्याचरी, दैनिक १ लाख चल्ला उत्पादन


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । अविनास ह्याचरीले आफ्नो क्षमता विस्तार गर्ने भएको छ । ह्याचरीलाई आधुनिक र स्वचालित बनाई उत्पादन बृद्धि गर्ने लक्ष्य अनुरुप लगानी विस्तार गर्न लागिएको अविनास ग्रूपका कार्यकारी अध्यक्ष गुणचन्द्र विष्टले बताए । ‘ह्याचरीमा आधुनिक प्रविधिको मेशिन ल्याएर अटोमेशनमा लैजानका लागि लागानी विस्तार गरेका हौं,’ उनले भने, ‘उक्त मेशिन जडान भएपछि ह्याचरीको सम्पूर्ण गतिविधि वाहिर बसेरै ह्याण्डिल गर्न सकिनेछ ।’
हाल कम्पनीले पिटरसन कम्पनीको आधुनिक प्रविधिको इगल आई मेशिन ल्याउन लागेको हो । उक्त मेशिनहरु नेदरल्याण्ड्स, जर्मनी र बेल्यिमबाट खरिद गरिने भएको छ । जसको लागि कम्पनीले खरिद सम्झौता समेत गरिसकेको विष्टले जानकारी दिए । हाल कम्पनीले हप्ताको ३ लाख चल्ला उत्पादन गर्दै आएको छ । तर, उक्त मेशिन जडान भएसँगै दैनिक रुपमा १ लाख चल्ला उत्पादन हुने उनले जानकारी दिए ।
विष्टका अनुसार कम्पनीले थप ५० करोड रुपैयाँ बरावरको आधुनिक मेशिन ल्याउन लागेको छ । उक्त मेशिन आयात भएसँगै ह्याचरीमा झण्डै ४ अर्ब रुपैयाँ लगानी हुने छ । नयाँ मेशिन जडान भएसँगै अण्डाको ग्रेडिङ गर्न सजिलो हुने र अझै गुणस्तरीय चल्ला उत्पादन गर्न सकिने उनको तर्क छ । ‘सवै प्रक्रिया आधुनिक प्रविधिको अटोमेशनमा गएपछि गुणस्तर पनि सोही अनुरुपको हुन्छ,’ उनले भने ।
पछिल्लो समय बजारमा कुखुराको माग २५ देखि ३० प्रतिशतले बढ्दै गएको र आफुले पनि सोही अनुरुप उत्पादन बृद्धि गर्न लागेको उनले जानकारी दिए । ‘कुनै पनि उद्योग बजारको माग अनुसार चल्नु पर्छ,’ उनले भने, ‘तसर्थ अविनाशले पनि आधुनिकतालाई आत्मसाथ गर्दै उत्पादनमा समेत बृद्धि गरिरहेको छ ।’
नयाँ मेसिन जडान भएसँगै ह्याचरीको सम्पूर्ण रेखदेख तथा अनुसन्धान सोही मेशिनले नै गर्ने छ । फार्र्ममा कुखुरालाई के भइरहेको छ, कस्तो गतिविधि भइरहेको छ भन्ने लगायतका जानकारी सोही मेसिनबाटै लिन सकिने विष्ट बताउँछन् । ‘सो मेशिन संचालनमा आएपछि ह्याचरीको बारेमा नेपालबाट मात्र नभई सम्बन्धित मेशिन निर्माता कम्पनीबाट समेत नियमन भइरहेको हुन्छ,’ उनले भने, ‘यदि ह्याचरीमा कुखुरालाई रोग लागेमा वा कुनै प्रकारका भौतिक क्षति भएमा सोको जानकारी सम्बन्धित कम्पनीले हामीलाई दिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL