काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारबाट एकै दिन एक खर्ब उठाउने भएको छ । कात्तिक १ गते बिहीबार बैंकले १३ दिन अवधि भएको एक सय अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न लागेको हो ।
यसका लागि बैंक तथा वित्तीय संस्थालाई दिउँसो ३ बजेसम्म अनलाइन विडिङमार्फत् निक्षेपको दर बोलकबोल गर्न आह्वान गरिएको छ ।
अहिले बजारमा अधिक तरलताको अवस्था छ । चाडबाडको समयमा पनि अपेक्षित रूपमा निक्षेप बढ्न नसक्दा बैंकिङ क्षेत्रमा तरलता थुप्रिएर बसेको छ । चाडबाड सकिएसँगै जनताको हातमा गएको पैसा पनि धमाधम बैंकिङ च्यानलमा आउन थालेको छ ।
दशैं अघिको अन्तिम दिनको तुलनामा दसैं बिदापछिको पहिलो दिन झन्डै ३९ अर्ब रुपैयाँ थप तरलता बैंकिङ क्षेत्रमा थपिएको छ । यस्तो अवस्थाबिच दुई साता अवधिका लागि बजारबाट राष्ट्र बैंकले १०० अर्ब रुपैयाँ तान्न लागेको हो ।