Logo

प्राधिकरणले शुरु गर्यो आईएमईआईको निगरानी, ८ महिनामा ६४ लाख दर्ता

प्राधिकरणले शुरु गर्यो आईएमईआईको निगरानी, ८ महिनामा ६४ लाख दर्ता


रक्षा रेग्मी
54
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरण (एनटिए) मा हालसम्म करिव ६४ लाख १३ हजार आईएमईआई नम्वर दर्ता भएका छन् । प्राधिकरणले गत बैशाखदेखि मोवाइलको आईएमईआई नम्वर दर्ता अनिवार्य गरेसँगै करिव ४० लाख ह्याडसेटमा आईएमईआई नम्वर दर्ता भएको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । जसमध्ये व्यक्तिगत तर्फ करिव ३ हजारले आईएमईआई नम्वर दर्ता गरेका छन् । आइफोनबाहेक नेपाल भित्रने अन्य ह्याण्डसेटमा २ ओटा आईएमईआई नम्वर हुन्छ ।

प्राधिकरणले वैशाख १ गतेदेखि अनिवार्य रुपमा मोबाइलको आईएमईआइ दर्ता गर्नुपर्ने नियम लागू गरेको थियो । विशेषगरी चोरीको फोन हटाएर मोबाइलको प्रयोग र बिक्री वितरणलाई थप व्यवस्थित तथा नियमित बनाउने उद्देश्यका साथ प्राधिकरणले आईएमइआई दर्ता अनिवार्य गरेको हो । मोवाइल चोरी हुने तथा मोवाइलबाट आपराधिक क्रियाकलाप गर्ने क्रम बढेकोले त्यस प्रकारका आपराधिक क्रियाकलाप रोक्न यस्तो व्यवस्था गरेको अर्यालले जानकारी दिए । आईएमईआई दर्तासँगै भन्सार छलीलाई हटाएर देशको राजस्व बढ्ने अपेक्षा समेत गरिएको छ ।

विशेषगरी अबैध रुपमा भित्रिएका तथा विदेशबाट उपहार स्वरुप आएका अधिकांश मोवाइलमा आईएमइआई नम्बर नहुने भएकोले त्यस्ता मोवाइल प्रयोगकर्ताले समयमै विचार पुर्याउन अर्यालले सुझाव छ । प्राधिकरणले नेपाल भित्रने हरेक फोनको आईएमईआइ दर्ता नगरेमा त्यस्ता मोवाइल सेट नै ब्लक गर्ने चेतावनी दिएको छ ।

प्राधिकरणले तयार पारेको ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनइआईआर) को अन्तरिम कार्यविधीले आधिकारिक आईएमइआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको हो । तर सेवा प्रदायकको सिस्टम अपग्रेड नगरेको कारण इआईआर लागु नभएको उनले जानकारी दिए ।‘नेपाल टेलिकमले आफ्नो सिस्टम अपग्रेड गरेको छैन,’ उनले भने, ‘उसले सिस्टम अपग्रेड गरेसँगै एनआईआर लागु गर्ने छौं।’

एनआइईआर नाम दिइएको सो निर्देशिकाले मोवाइलको तस्करी, कालोबजारी रोक्ने र हराएका मोवाइलको ट्रयाकिङ तथा व्लकिङ गर्ने छ । त्यस्तै आईएएमईआर्ई नम्वरमार्फत मोवाइल सेवा प्रदायकले हराएका या चोरी भएका मोवाइल ट्रयाक गर्न सक्नेछन् । जसले गर्दा अपराधिक क्रियाकलाप पनि कम भई अवैध व्यापार नियन्त्रण गर्नुका साथै देशको राजस्व समेत बृद्धि गर्छ । प्राधिकरणले नेपालमा हाल प्रयोगमा रहेका मोबाइललाई निगरानीमा राख्न शुरु गरिसकेको समेत अर्यालले जानकारी दिए ।

कसरी गर्ने आईएमइआई दर्ता ?

मोवाइलको आईएमइआई दर्ताका लागि सम्वन्धित कम्पनीले प्राधिकरणमा निवेदन दिन्छ । सो निवेदन प्राप्त गरेसँगै प्राधिकरणले नो अब्जेक्सन लेटर भन्सारमा पठाएपछि आईएमईआईको अरु प्रक्रिया शुरु हुनेछ । आईएमईआई दर्ता गर्न प्राधिकरणले उपलब्ध गराएको निवेदन भरेर उपलब्ध गराइएको इमेल ठेगानामा पठाउने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालले बताए । हाल प्राधिकरले मोबाइले ह्यान्डसेटको दर्ता अनलाइनबाट पनि उपलब्ध गराउदै आएको छ ।

जसअनुसार प्राधिकरणको वेबसाइटमा गएर अन्तरिम निर्देशिकाको एनेक्स २ बमोजिम उपलब्ध भएको निवेदनका साथ मोबाइल प्रयोगकर्ताको नागरिकता वा अन्य कुनै परिचयपत्रको प्रतिलिपी पनि पेश गर्नुपर्नेछ ।

मोवाइल प्रयोगकर्ताले स्टार ह्यास शुन्य ६ ह्यास डायल गरेर आफ्नो मोवाइलको आईएमइआई नम्वर पत्ता लगाउन सक्छन् । साथै मोवाइलमा व्याट्रि राख्ने भागमा पनि आईएमइआई नम्वर दिइएको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्