Logo

लुब्रिकेन्ट बजारमा स्वदेशी प्रतिश्पर्धी थप, ५० करोड लगानीमा धनुषामा भिडोलको उत्पादन सुरु

लुब्रिकेन्ट बजारमा स्वदेशी प्रतिश्पर्धी थप, ५० करोड लगानीमा धनुषामा भिडोलको उत्पादन सुरु



काठमाडौं । बार्षिक झण्डै २ खर्ब हाराहारीमा रहेको लुब्रिकेन्टको नेपाली बजारमा थप प्रतिश्पर्धी थपिएको छ । मंगलबार मात्रै धनुषाको मिथिला नगरपालिका ३ लालभट्टीयामा रहेको युनाइटेड लुब्रिकेन्टको फ्याक्ट्रीबाट भिडोल ब्राण्डका लुब्रिकेन्टहरुको व्यवसायिक उत्पादन सुरु भएको हो ।

नेपालमा लुब्रिकेन्ट बजारमा सर्भाे, पीएलओ, गल्फ, रोयललगायत ब्राण्डका लुब्रिकेन्टहरुको बजार हिस्सा ठुलो छ । त्यसमध्ये आयातित लुब्रिकेन्ट ब्राण्ड सर्भाे र गल्फले सबैभन्दा बढी बजारहिस्सा ओगटेका छन् । यी दुई ब्राण्डको लुब्रिकेन्ट बजारहिस्सा मात्रै झण्डै १ खर्ब बढीको छ । बाँकी हिस्सा भने विभिन्न ५० बढी ब्राण्डहरुले हाल ओगटिरहेका छन् । त्यसमध्ये नेपालकै नेपाल गोल्ड पनि एक हो ।

यसअघि नै युनाइटेड लुब्रिकेन्ट प्रालिले आफ्नो फ्याक्ट्रीबाट नेपाल गोल्ड नामको लुब्रिकेन्टहरु उत्पादन गर्दै आएको उक्त फ्याक्ट्रीबाट भिडोल ब्राण्डका लुब्रिकेन्टहरुको पनि उत्पादन सुरु भएको हो ।

मंगलबार विश्वकर्मा पूजाको अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह र भिडोल इन्टरनेशनल लिमिटेड, युकेका निर्देशक अरिजित वासुले संयुक्त रूपमा भिडोल ब्राण्डको उत्पदानको उद्घाटन गरेका हुन् । भिडोल एक अमेरिकी फ्रेन्चाइज कम्पनी हो ।

युनाइटेड लुब्रिकेन्टको कुल १ लाख ७५ हजार ८७६ स्क्वायर फिटमा फैलिएको फ्याक्ट्रीबाट हाल इन्जिन आयल, ग्रिज, हाइड्रोलिक आयललगायतका उत्पादनहरु उत्पादन हुँदै आएका छन् ।

नेपालमै अब ठुलो मात्रामा लुब्रिकेन्टहरु उत्पादन हुन थालेसँगै आयातित लुब्रिकेन्टहरु प्रयोग गर्नुपर्ने बाध्यताबाट बाहिर निश्कन सकिने यूनाइडेट लुब्रिकेन्ट्स इन्डस्ट्रिजका प्रबन्ध निर्देशक दिपेन्द्र कुमार मिश्र बताउँछन् । उनका अनुसार अब नेपालमै गुणस्तरीय र भरपर्दाे लुब्रिकेन्ट उत्पादन गर्न थालिएको हो ।

उक्त कम्पनीको मुख्य प्लान्टमा कच्चापदार्थ स्टोरेजका लागि ६ हजार ७९३ वर्गफिट, बोइलर क्षेत्रका लागि ४ हजार ७४४ वर्गफिट, वेयरहाउस क्षेत्रका ३८ हजार ४२५ वर्गफिट र रेसिडेन्ट तथा सेकुरिटी (आवास र सुरक्षा) कोलोनी क्षेत्र ४ हजार १ सय वर्गफिटमा छुट्याइएको छ ।

मासिक १० लाख लिटर लुब्रिकेन्ट उत्पादन क्षमता रहेको प्लान्टमार्फत हाल दैनिक ३३ हजार लिटर लुब्रिकेन्ट उत्पादन भईरहेको छ । नेपालमा हाल मासिक ३० लाख लिटर लुब्रिकेन्ट उत्पादन हुने गरेकोमा त्यसको आधा हिस्सा उत्पादन क्षमता हाल आफ्नो कम्पनीमा रहेको कम्पनीका जनरल म्यानेजर दिनेश खनाल बताउँछन् । ‘नेपालमा हाल मासिक ३० देखि ३५ लाख लिटर लुुब्रिकेन्ट उत्पादन हुने गरेको छ,’ उनले भने, ‘तर, हामी एक्लै मासिक १० देअि १५ हजार लिटर लुब्रिकेन्ट उत्पादन गरेर बजारमा पठाउन सक्षम छौं ।’

कम्पनीको यहि क्षमता र गुणस्तरलाई हेरेर अमेरिकी फ्रेन्चाइजी भिडोलले पनि आफ्ना उत्पादनका लागि फ्रेन्चाइजी दिएको उनको भनाई थियो । प्लान्टबाट दैनिक सिफ्ट अनुसार १५ हजार लिटर लुब्रिकेन्ट र १० हजार केजी ग्रिज उत्पादन हुँदै आएको छ ।

कम्पनीले धनुषामा रहेको फ्याक्ट्रीमा लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक बेसआयल, सिन्थेटिक लगायतका कच्चा पदार्थ भारतबाट आयात गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्