Logo

नेप्सेमा भारु प्रभाव, लगानीको स्रोत देखाउन सस्तोमा सेयर बेचिँदै

नेप्सेमा भारु प्रभाव, लगानीको स्रोत देखाउन सस्तोमा सेयर बेचिँदै


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । भारत सरकारले आफ्नो मुद्राको ५ सय १ हजार रुपैयाँका नोटको कारोवारमा प्रतिवन्ध लगाएसँगै त्यसको प्रभाव नेपालको सेयर बजारमा देखिन थालेको छ । बैंक तथा वित्तीय संस्थाले राम्रो प्रतिफल तथा सोही अनुरुपको बोनस तथा हप्रद सेयर जारी गरिरहेका वेला सेयर बजार निरन्तर ओरालो लाग्नुले यसको प्रस्ट संकेत गर्दछ । उच्च रुपमा नेप्से परिसुचक घट्दा उच्च कारोवार हुनुले पनि यस्तो संकेत गर्दछ ।

भारु बन्देजसँगै व्यापारीहरुलाई कारोवारमा कठिनाइ भएको र त्यसको विकल्पमा सस्तोमा भएपनि सेयर बेच्न थालेका सम्बद्ध लगानीकर्ताहरुले बताएका छन् । नेपालका केही औद्योगिक घरना तथा ठूला व्यापारीहरुले ठूलो मात्रामा भारुमा कारोवार गर्दै आएको र सो रकममा प्रतिवन्ध लाग्दा तत्कालका लागि बजारमा चल्न आफूसँग रहेको सेयर विक्री गर्न थालेका स्रोतको दावी छ । ‘केही ठूला व्यवसायीले भारुमा ठूलो कारोवार गर्दै आएका छन् भने सेयर बजारमा पनि सोही मात्रामा लगानी गरेका छन्,’ एक लगानीकर्ताले भने, ‘आफ्नो व्यापार व्यवसायमा चल्नका लागि पनि सस्तोमा सेयर बेच्न थालेका छन् ।’

साथै कतिपय व्यवसायी तथा लगानीकर्ताले आफुले अकुत रुपमा भारु आर्जन गरेर राखेको र त्यसको स्रोत देखाउनका लागि पनि बजारबाट सेयर विक्री गरेर रकम खिचिरहेको सम्वद्ध सुत्रको दावी छ । नेपालका सेयर बजारमा पनि दोहोरो नागरिकताधारी भएको र त्यस्ता व्यक्तिहरु बजारमा समयसापेक्ष चल्दा नेपालको स्टक मार्केटमा समय समयमा समस्या आइरहेको उक्त सुत्रको आरोप छ । हाल त्यस्ता दोहोरो नागरिकताधारीले दुवै देशका सेयर बजारमा लगानी गरेको र आफुसँग भएको अवैध भारुलाई बैध बनाउनकै लागि सेयर बजारबाट वाहिरिने क्रम बढेको हो । जुन रकम उनीहरुले भारुलाई बैंध बनाउन स्रोतको रुपमा प्रयोग गर्न सक्नेछन् ।

जसको प्रभाव स्वरुप बिहीबार नेप्से परिसुचक झण्डै ४१ अंकले ओरालो लागेको छ । नेप्से उच्च रुपमा घट्दा बजारमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको करोवार भएको छ । बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासिकको राम्रो प्रतिफल, नेशनल लाइफ इन्स्योरेन्स तथा एभरेष्ट बैंकको उच्च हकप्रद र बोनसका कारण बजार बढ्ने आशामा वसेका लगानीकर्ताहरु निराश बन्न पुगेका छन् । बजार खुलेदेखि नै ओरालो लागेको बजारमा अन्तमा ४० दशमलव ८२ अंकले घट्दै १ हजार ६ सय ५८ अंकमा झरेर अडिएको छ । जसमा बैंक र बीमा समुहकै प्रभाव बढी रहन पुग्यो ।

बजारमा सवै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा बीमा समुहको परिसचक २ सय ४२ अंकले घटेको छ भने बैंकिङ समुहको परिसुचक पनि ४० दशमलव ९६ अंकले ओरालो लागेको छ । यसैगरी जलविद्युत समुह ६० अंकले घट्दा होटल ५३, विकास बैंक ४१, फाइनान्स १२ र अन्य समुहको परिसुचक १० अंकले ओरालो लागेको छ ।

हिजो मात्रै ७० प्रतिशत बोनस सेयर घोषणा गरेको एभरष्ट बैंकको सेयर प्रतिकित्ता १ सय ६६ अंकले घट्दै ५१ करोड ७० लाख रुपैयाँको कारोवार भएको छ । संस्थाले उच्च प्रतिफल दिएपनि भारु प्रतिवन्धका कारण लगानीकर्ताहरु वाहिरिँदा सेयर मूल्य घट्दै उच्च कारोवार भएको देखिन्छ । त्यसैगरी शतप्रतिशत हकप्रद जारी गरेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि सेयर मूल्य प्रतिकित्ता १ सय ४५ रुपैयाँले ओरालो लाग्दै साढे १२ करोड रुपैयाँको सेयर खरिदविक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्