Logo

आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक, भदौमा मात्रै पौने ३ खर्ब प्रशोचन

आइतबार एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब उठाउँदै राष्ट्र बैंक, भदौमा मात्रै पौने ३ खर्ब प्रशोचन



काठमाडौं । नेपाल राष्ट्र बैंकले आईतबार एकैदिन बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । केन्द्रिय बैंकले सार्वजनिक सूचना जारी गर्दै बोलकबोलको प्रक्रियाबाट १ खर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागिएको जानकारी दिएको हो ।

खासगरी पछिल्लो समय अर्थतन्त्र लयमा फर्किएको भन्दै केन्द्रिय बैंकका गभर्नरसमेत भाषण गर्दै आईरहेका छन् । तर, अर्थतन्त्र लयमा फर्कीएको बताईरहँदा पनि बैंकिङ प्रणालीमा तरलता थुप्रिईरहँदा बजारलाई सन्तुलन बनाउन केन्द्रिय बैंकले बजारबाट पैसा फिर्ता लिने क्रम जारी छ । यसअघि गत हप्ताको बुधबार मात्रै ४० अर्ब प्रशोचन गरेको राष्ट्र बैंकले आज पुनः १ खर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।

राष्ट्र बैंकका अनुसार बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुने उक्त निक्षेप संकलनमा आज साँझ साढे ३ बजेसम्म आवेदन दिन पाईनेछ । न्यूनतम १० करोड रुपैयाँका लागि आवेदन दिन सकिने उक्त निक्षेप संकलन बोलकबोलको अवधि भने २१ दिने हुनेछ । यसको सावाँ र ब्याज भुक्तानी भने असोज १३ गते नै गरिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

हाल बैंकिङ प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५१ खर्ब ९९ अर्ब रुपैयाँ छ । अर्थात निक्षेप र कर्जा प्रवाहबीचको फरक १३ खर्ब बढीको छ । हाल वाणिज्य बैंकहरुको मात्रै निक्षेप ५७ खर्ब ४३ अर्ब रुपैयाँ पुग्दा ४५ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको मात्रै कर्जा प्रवाह भएको देखिन्छ ।

लगातार बढिरहेको तरलताका कारण राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट लगातार रकम प्रशोचन गरिरहेको देखिन्छ । भदौका महिनामा हालसम्म मात्रै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २ खर्ब ४० अर्ब रुपैयाँ प्रशोचन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL