Logo

पुँजी बजार र कर्जा प्रवाह बढिरहँदा अर्थतन्त्र चलायमान भएको देखिन्छ : गभर्नर अधिकारीको विचार

पुँजी बजार र कर्जा प्रवाह बढिरहँदा अर्थतन्त्र चलायमान भएको देखिन्छ : गभर्नर अधिकारीको विचार



देशको अर्थतन्त्रको बारेमा मैले धेरै बताईराख्नु नपर्ला । बाह्य क्षेत्र अत्यन्तै सबल छ । मुद्रास्फीति औसतभन्दा निकै तल अर्थात ३ प्रतिशतमा झरेको छ । मुद्रास्फीति निकै तल इतिहासमा कुनै कुनै बर्षमा मात्रै देख्न सकिन्छ । बाह्यक्षेत्र सँगसँगै बैंकिङ क्षेत्रमा प्रचुर मात्रामा तरलता रहेको छ । बैंकिङ क्षेत्रमा रहेको तरलता, अहिलेको अवस्था र सबलतालाई ध्यान राख्दै नेपाल राष्ट्र बैंकले पछिल्लो मौद्रिक नीतिमार्फत धेरै नै लचकता अपनाएको छ ।

बैंकिङ क्षेत्रमा रहेको तरलताकै आधारमा बैंकिङ प्रणालीमा ब्याजदरहरु घटिरहेका छन् । नीतिगत दरहरु तल छन् । यसले भोलीको दिनमा हाम्रो आर्थिक क्रियाकलापहरुलाई अगाडी बढाउनलाई, निजी क्षेत्रको मनोबल उच्च राख्नका लागि प्रशस्त मात्रामा आधारशिला खडा गरिदिएको छ ।

केहि सूचकहरु हामीले स्पष्ट रुपमा पाईसकेका छौं । भर्खरै सम्पन्न भएको सवारीसाधन सम्बन्धी प्रदर्शनीहरु, पुँजी बजारहरु र अन्य स्थितिहरुले केहि न केहि आर्थिक चलायमान भईरहेको देखिन्छ ।

गत आर्थिक बर्षमा अर्थतन्त्रमा देखिएको समस्यालाई पनि नयाँ आर्थिक बर्षको पहिलो महिना साउनको तथ्याङकहरुले सकारात्मक सूचक दिईसकेको छ । पुँजीगत खर्चमा अगाडीका बर्षहरुमा पहिलो महिनामै राम्रो खर्च भएको छ । राजस्व संकलनमा हामीलाई अगाडीका दुई बर्ष निकै समस्या थियो । चालु आवको साउनको महिनामा राजस्व संकलनमा पनि सकारात्मक सूचक देखिएको छ ।

कर्जा प्रवाहको स्थिति हेर्दा पनि साउनमा लगभग ३ अर्ब रुपैयाँ मात्रै कर्जा गएको देखिएपनि हालसम्म थप १२ अर्ब कर्जा प्रवाह भईसकेको अवस्था छ । यो ट्रेण्ड अगाडी बढिराख्दाखेरी हामी आशा गर्न सक्छौं यो आर्थिक बर्षबाट नयाँ किसिमले अर्थतन्त्र चलायमान हुनेछ ।

हाल राज्य पनि त्यसैगरी नीतिगत रिफर्ममा लागिरहेको छ । कानुनको प्रसंग अलि अघि आईसकेको छ । राष्ट्र बैंकले सुधारका कामहरु गर्न खोज्ने हो । अप्ठ्यारा भईरहेका कुराहरुलाई के ले हस्तक्षेप गरिरहेको छ र के ले बाधा पुर्याईरहेको छ त्यसको सुधार गर्दै जानुपर्छ । त्यस्ता तत्वहरुलाई सुधार गरिराख्दा व्यवहारिक कुराहरुलाई पनि अघि राख्ने हो । कुनै कानुनको मस्यौदा तयार गर्नेले वास्तविक कुराहरुलाई अगाडी ल्याईदिनै पर्छ । यसले गर्दा कानुन, नियम बनाउनेहरुले त्यसलाई सन्तुलनमा राखेर अघि बढ्न सजिलो हुन्छ ।

आर्थिक पत्रकारहरुले नेपालको अर्थतन्त्रहरुलाई ठुलो योगदान दिँदै आउनुभएको छ । (नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं बार्सिक साधारणसभामा गभर्नर महाप्रसाद अधिकारीले व्यक्त गरेको विचार )

प्रतिक्रिया दिनुहोस्
MBL