Logo

क्षमता विस्तार गर्दै सर्वोत्तम सिमेन्ट, कूल पूँजी १० अर्ब पुर्याइने, पिएससी पनि उत्पादन

क्षमता विस्तार गर्दै सर्वोत्तम सिमेन्ट, कूल पूँजी १० अर्ब पुर्याइने, पिएससी पनि उत्पादन


रक्षा रेग्मी
0
Shares

काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रालिले क्षमता विस्तार गर्ने भएको छ । कम्पनीले पूँजी तथा क्षमता विस्तारका लागि हालै मात्र उद्योग विभागमा प्रस्ताव राखेको विभागका अनुमती शाखा प्रमुख रामप्रसाद लुँइटेलले जानकारी दिए । ‘कम्पनीले एक हप्ता अघि क्षमता विस्तारको प्रस्ताव पत्र पेस गरेको छ,’ उनले भने ‘सो प्रस्ताव अध्ययन गरेर स्वीकृति दिने तयारी भइरहेको छ ।’

नवलपरासीको रामनगरमा उद्योग रहेको सो सिमेन्टको हाल ६ अर्व रुपैयाँ कूल पूँजी रहेको छ । त्यसमा ३ अर्व ९७ करोड रुपैयाँ थप गर्न लागेको हो । यससँगै सर्वोत्तम सिमेन्टको कूल पूँजी ९ अर्व ९७ करोड रुपैयाँ कायम हुनेछ ।

कम्पनीले क्लिङकर तथा पिएससीको उत्पादन बढाउन लागेको हो । हाल वार्षिक रुपमा ९५ हजार ७ सय मेट्रिक टन क्लिङर उत्पादन गर्दै आएकोमा ३ लाख ५ हजार ८ सय मेट्रिक टन थप गर्न स्वीकृति मागेको हो । त्यस्तै सर्वोत्तमले बार्षिक २ लाख ८८ हजार २ सय मेट्रिक टन पिएससीको उत्पादनका लागि पनि स्वीकृति मागेको हो । हाल कम्पनीले १ लाख ४८ हजार ओपिसी र १ लाख ४८ हजार मेट्रिक टन पिपीसी उत्पादन गर्दै आएको छ ।

त्यस्तै कम्पनीले हाल ६ सय ४५ जनालाई रोजगारी दिइरहेको छ । क्षमता विस्तार गरेसँगै १ सय ५ जना जनशक्ति थप गरि ७ सय ५० जना पुर्याइने छ ।

उद्योगले क्षमता विस्तारसँगै विद्युतको खपत समेत बढ्ने छ । जसअनुसार बार्षिक १५ हजार केभिए विद्युत खपत हुने छ । हाल बार्षिक ९ हजार केभीए विद्युत खपत गर्ने गरेको छ ।

पछिल्लो क्षमता विस्तारका लागि उद्योग विभागमा प्रस्ताव दिने उद्योगको संख्या बढेको छ । गत बर्षदेखि सरकारले ३ हजार टिपीडी (टन प्रतिदिन) भन्दा कम क्षमताका द्योगहरुले प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) मात्र गरे पुग्ने व्यवस्था गरेसँगै क्षमता विस्तारको स्वीकृति लिने बढेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए । ‘यसअघि दैनिक १ हजार २ सय ५० टनसम्म उत्पादन गर्ने उद्योगहरुलाई मात्र आईइईको व्यवस्था गरिएको थियो,’ उनले भने, ‘आइईईको दायरा बढाएसँगै उद्योगहरुले क्षमता विस्तार गर्न थालेको हुन् ।

१ हजार ५० टन प्रतिदिन भन्दा बढी क्षमताका उद्योगलाई इआईए अनिवार्य गरिएको र सो व्यवस्था झण्झटिलो भएकोले उद्योगहरुले कम क्षमताका उद्योग सञ्चालन गर्दै आएका थिए । उद्योगीहरुले सरकारले दिएको सोही सुविधाको फाइदा उठाउँदै सिमेन्ट उद्योगको क्षमता विस्तार गर्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्