Logo

यूरोप तथा जापानमा नेपाली कागजको माग बढ्यो, वार्षिक निर्यात ६० करोडभन्दा बढी

यूरोप तथा जापानमा नेपाली कागजको माग बढ्यो, वार्षिक निर्यात ६० करोडभन्दा बढी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपालबाट बार्षिक ६० करोड रुपैयाँ बराबरको नेपाली कागज निर्यात हुने गरेको छ । विशेषगरी जापान, चीन तथा युरोपेली मुलुकमा यसको निर्यात हुने गरेको नेपाली कागज उत्पादक संघका अध्यक्ष मोहनकृष्ण मानन्धरले जानकारी दिए । अन्य कागजको तुलनामा नेपाली कागज गुणस्तरीय तथा टिकाउ हुने भएकोले पनि यसको माग बढेको उनले बताए । ‘नेपाली कागज जापानमा जापानी मुद्रा यन तथा पासपोर्ट बनाउन प्रयोग हुन्छ’ उनले भने ।

विशेषगरी लोकताबाट बन्ने कागजबाट जापानी मुद्रा बनाइने मानन्धरले जानकारी दिए । लोकताबाट बन्ने कागज अन्यको तुलनामा बलियो भएकोले पनि जापानी यन छाप्ने गरेको हो । नेपाली कागज छालाजन्य वस्तु उत्पादनमा पनि प्रयोग हुने गरेको छ ।

उनका अनुसार नेपाली कागजको माग बार्षिक रुपमा १५ प्रतिशतका दरले बढ्ने गरेको छ । नेपाली कागजको माग विदेशमा मात्र नभइ स्वदेशमा समेत बढेको सम्वन्धित व्यवसायीहरु बताउँछन् । पछिल्लो समय विवाहका कार्ड, भिजिटिङ कार्ड तथा लेटर हेडलगायतमा नेपाली कागज प्रयोग हुन थालेकोले खपत बढेको हो । त्यस्तै सरकारी कार्यलयमा पनि नेपाली कागज अनिवार्य गरेसँगै यसको माग बढेको मानन्धरले जानकारी दिए । त्यस्तै नेपालमा नेपाली कागजबाट बाइने पेपर धुपको माग पनि बढेको छ ।
नेपाली कागज उत्पादक संघका अनुसार हाल बार्षिक ४० करोड रुपैयाँ बराबरको कागज खपत हुने गरेको छ । हाल नेपालका ५५ जिल्लामा उत्पादन हुन्छ । अछाम, रुकुम, बैतडी, गोरखा, दोलखा तथा रामेछापलगायत जिल्लामा लोकता पाइन्छ । अन्य कागजको तुलनामा यो अलि महंगो छ । ‘अन्यको तुलनामा महंगो भएकोले सोचेअनुसारको विक्री गर्न सकेका छैनौं,’ उनले भने । परम्परागत प्रणालीबट उत्पादन गरिने हुँदा यसको मूल्य बढी परेको बताइएको छ । कागजको मूल्य प्रतिग्राम १ सय ८० रुपैयाँ पर्छ । तर गुणस्तरका आधारमा यसको मूल्य फरक पर्ने बताइएको छ ।

यस व्यवसायमा विशेषगरी महिलाहरु संलग्न छन् । एउटा कागज कारखाना स्थापना गर्नका लागि १० लाखसम्म लगानी लाग्ने बताएको छ । नेपाली कागजको कच्चा पदार्थ जंगल हो । यो लोकता, बाबियो, अर्गेलीको बोर्काबाट बनान्छ । स्थानीयस्तरमै सहजै उपलब्ध हुने भएकोले पनि यसतर्फ आकर्षण बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL