काठमाडौं । भारत सरकारले आफ्नो मुद्रामा लागएको प्रतिवन्धसँगै सो विषयमा नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । भारतले ५ सय र १ हजारका भारुको कारावारमा कसी लगाएपछि नेपाल राष्ट्र बैंकले पनि अग्रसरता देखाएको हो । नेपालका बैक वित्तीय संस्था तथा जनतासँग भएको पैसा सटहीका राष्ट्र बैंकले भारतीय रिजर्व बैंक (आवीआई) सँग पहल गरेको छ ।
आफुसँग भएको पैसा सटही सुविधाका लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आरवीआईका डेपुटी गभर्नरसँग फोनमा वार्तालाप गरेका थिए । तर, आरवीआईका डेपुटी गभर्नरले सो सम्बन्धमा पत्रचार गर्न आग्रह गरेपछि सोही अनुसार नेपाल राष्ट्र बैंकले तयारी गरेको सिवाकोटीले जानकारी दिए ।
सिवाकोटीका अनुसार आज भारतीय बैंक बन्द भएका कारण केही समयभित्रै भारु सटहीका विषयमा पत्राचार गरिने भएको छ । आरवीआईको जवाफ आएपछि मात्र नेपालका बैंक वित्तीय संस्था तथा व्यक्तिहरुसँग भएको ५ सय र १ हजार रुपैयाँका नोट राष्ट्र बैंकले खिच्न सकिने उनको तर्क छ । ‘भारत सरकारको निर्णयसँगै आजैबाट हामीले पनि कारोवारमा रोक लगाएका छौं,’ उनले भने, ‘बैंक वित्तीय संस्था तथा मनी चेन्जरसँग कति रकम छ त्यसको तथ्याङ्क संकलन गरिरहेका छौं ।’
भारतीय रिजर्व बैंकले भारु सटही सुविधा दिएपनि राष्ट्र बैंकले व्यक्तिसँग भएको २५ हजार रुपैयाँभन्दा बढीको भारु नसाट्ने भएको छ । ‘हाम्रो कानुन बमोजिम कुनै पनि व्यक्तिले ५ सय र १ हजारको गरी २५ हजार रुपैयाँसम्म भारु राख्न सक्नेछन्,’ उनले भने, ‘त्योभन्दा बढी भएमा सम्बन्धित व्यक्ति नै जिम्मेवार हुनेछ ।’ भारतसँगको खुला सिमाना र धेरै नेपाली कामदार रोजगारीका लागि भारत जाने गरेका र नेपालीसँग भारु हुने भएकाले २५ हजार हजार रुपैयाँसम्म सटहीका लागि पहल गर्न लागिएको उनले जानकारी दिए ।
भारत सरकारले कालोधनको कारोवारलाई रोक लगाउन ५ सय र १ हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाइरहेको वेला नेपाल राष्ट्र बैंकले त्यसलाई सटही गरेर प्रसय नदिने समेत शिवाकोटीको तर्क छ ।