Logo

बिमस्टेकले अतिकम विकसित मुलुकको आर्थिक वृद्धिमा सहयोग, व्यवसायीलाई बिमस्टेक भिसा

बिमस्टेकले अतिकम विकसित मुलुकको आर्थिक वृद्धिमा सहयोग, व्यवसायीलाई बिमस्टेक भिसा


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । वाणिज्य मन्त्री रोमी गौचन थकालीले बिमस्टेक स्वतन्त्र व्यापार क्षेत्रसम्बन्धी सम्झौतालाई यथाशीघ्र अन्तिम रूप दिई कार्यान्वयनमा ल्याउन सके फाइदा हुने बताए । यसबाट यस क्षेत्रका अतिकम विकसित र विकासोन्मुख मुलुकको व्यापार र आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्नसक्ने बताएका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा व्रिरिक्स विमस्टिक लिडर्स समिट को साइडलाइन्समा १४ अक्टोबर २०१६ मा आयोजित मिमिस्टिक विजनेश समिटलाई सम्बोधन गर्दै उनले यस्तो विचार व्यक्त गरेका हुन् । प्राकृतिक तथा मानव स्रोत साधन दुवैमा अत्यन्त धनी क्षेत्रको रूपमा रहेको भए तापनि व्यापार तथा आर्थिक एकीकरणको दृष्टिले बिमस्टेक क्षेत्र अहिले पनि सबैभन्दा कमजोर क्षेत्रको रूपमा रहनु यस क्षेत्रका अतिकम विकसित मुलुकका लागि लाभदायक नभएको कुरा बताए ।

बिमस्टेक फ्रेमवर्क सम्झौताको प्रभावकारी कार्यान्वयनमार्फत यस क्षेत्रका सदस्य मुलुकहरूबीच व्यापार, लगानी र सेवा व्यापार क्षेत्रमा आपसी अन्तरसम्बद्ध प्रवर्द्धन गर्नुपर्ने कुरामा उनले जोड दिए । पूर्वाधार विकासका क्षेत्रमा रहेका व्यवधानलाई पन्छाउँदै सडक यातायात, रेल तथा हवाई सेवा, बन्दरगाह र आन्तरिक जलमार्गको विकासमार्फत सम्पर्क सुदृढ गरी यस क्षेत्रका मुलुकहरूबीच व्यापार विस्तार गर्न सकिने विश्वास गरे ।

यस क्रममा केही समय अघि तयार भएको विमिस्टिक ट्रान्सपोर्ट इन्फ्रास्ट्रक्चर एण्ड लजिस्टिक स्टडी (विटीआइएलएस)को प्रभावकारी कार्यान्वयन हुनसके यसबाट यस क्षेत्रका मुलुकहरूबीच कनेक्टीभीटी विस्तार भई व्यापार र लगानी प्रवर्द्धन गर्न सहयोग पुग्ने मन्त्रीले बैठकमा राखे ।

यसैगरी यस क्षेत्रमा लगानीकर्ता र व्यवसायीहरूको आवागमनलाई सहज तुल्याउन बिमस्टेक भिसा उपयोगी हुनसक्ने कुरामा पनि जोड दिए ।
सम्मेलनका दौरान उनले भारतका माननीय वाणिज्य तथा उद्योग राज्यमन्त्री श्रीमती निर्मला सीतारामनसँग पनि भेटवार्ता गरे । कार्यक्रममा भाग लिन निजी क्षेत्रका प्रतिनिधिसहितको एक प्रतिनिधिमण्डल यही असोज २७ गते नयाँ दिल्लीतर्फ प्रस्थान गरेको थियो ।

उक्त कार्यक्रममा सहभागी भएपश्चात् मन्त्री थकाली बंगलादेशको ढाकामा आयोजित लिन्थ साउथ एशिया इकोनोमिक्स समिट (एसएइएस) मा भाग लिन बंगलादेशको ढाका पुगेका छन् ।

अक्टोबर १५ का दिन सो कार्यक्रममा आफ्नो मन्तव्य राख्दै उनले सार्क क्षेत्रबाट गरिबी उन्मूलन गर्न, जलवायु परिवर्तनबाट उत्पन्न जोखिमहरुलाई न्यूनीकरण गर्न र दिगो आर्थिक वृद्धि हासिल गर्न यस क्षेत्रका मुलुकहरुले संयुक्त रुपमा पहल गर्नुपर्नेमा जोड दिए । साथै सार्कका बडापत्रमा उल्लिखित लक्ष्य र उद्देश्यहरु अहिले झन् सान्दर्भिक भएको बताए । ती साझा लक्ष्यहरुलाई परिणाममुखी तरिकाले व्यवहारमा उतार्न सबैले जोड दिनुपर्ने बताए ।

वाणिज्य मन्त्री थकालीले १६ अक्टोबर मा बंगलादेशका वाणिज्य मन्त्री टोफेल अहमदसँग मैत्रीपूर्ण भेटघाट गरे । सो अवसरमा बंगलादेश र नेपालबीच लगानी तथा द्विपक्षीय व्यापार प्रवर्द्धन र व्यापारजन्य पूर्वाधारको सुधारका विषयमा छलफल भएको थियो । सो अवसरमा नेपालबाट बंगलादेशमा निर्यात हुने १०८ वटा वस्तुलाई शून्य भन्सार महसुलमा तथा बंगलादेशबाट नेपालमा आयात हुने ५० वटा वस्तुलाई सहुलियतपूर्ण भन्सार दरको सुविधा उपलब्ध गराउने विषयको समझदारीलाई टुंगोमा र्पुयाई यथाशीघ्र कार्यान्वयनमा ल्याउने विषयमा दुवै पक्षबाट सहमति व्यक्त भएको थियो ।

बंगलादेश प्रवेश गर्ने उद्यमी र व्यवसायीलगायतका नेपाली नागरिकहरुलाई अन अराइभल भिसा उपलब्ध गराउन आवश्यक सहजीकरणका साथै रोहनपुर र बंगलाबन्धमा आवश्यक पूर्वाधार विकास तथा सुधारका लागि बंगलादेशका वाणिज्य मन्त्रीसँग अनुरोध गरे ।

प्रत्युत्तरमा बंगलादेशका वाणिज्य मन्त्री तोफिल अहमदले बंगलादेश प्रवेश गर्ने नेपाली नागरिकहरुलाई सहज रुपमा अन अराइभल भिसा उपलब्ध गराउने विषयका अतिरिक्त द्विपक्षीय व्यापार प्रवर्द्धन र विस्तार, व्यापारजन्य पूर्वाधार विकासलगायतको सहमती गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्