Logo

विदेशी लगानीकर्ताले धितोपत्रमा लगानी गर्न पाउने, लगानीको सीमा नतोकिने

विदेशी लगानीकर्ताले धितोपत्रमा लगानी गर्न पाउने, लगानीको सीमा नतोकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी लगानीकर्ताले धितोपत्रमा लगानी गर्न पाउने भएका छन् । विदेशी लगानीकर्ता वा गैर आवासीय नेपालीले नेपाल धितोपत्र बोर्डमा सूचिकृत धितोपत्र बजारमा कारोवार हुने तोकिएका कम्पनीको धितोपत्रको दोश्रो बजार मार्फत खरिद गरी लगानी (पोर्टफोलियो इन्भेष्टमेन्ट) समेत गर्न सकिने भएको हो । विदेशी लगानी सम्वन्धी कानूनको संशोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदामा सो उल्लेख छ ।

त्यसैगरी विदेशी लगानीको निश्चित सीमा तोकिदै आएकोमा अव नतोकिने भएको छ । विदेशी लगानीकर्ताले यस ऐन बमोजिम नेपालमा गर्ने विदेशी लगानीमा कुनै अधिकतम सीमा तोकिने छैन ।

त्यस्तो कम्पनीमा प्रचलित कानूनको अधिनमा रही शतप्रतिशतसम्म विदेशी लगानी गर्न सकिने उल्लेख छ । तर सेवा उद्योगको हकमा विश्व व्यापार संगठनको सदस्य प्राप्त गर्दाका बखत नेपाल सरकारले सम्वन्धित क्षेत्र वा उपभोक्ता सम्वन्धमा व्यक्त गरेको प्रतिबद्धताभन्दा कम नहुने गरी विदेशी लगानीको स्वपूँजी (इक्विटी) को अधिकृत सीमा तोक्न सकिने छ ।

नयाँ विधेयकको मस्यौदामा विदेशी लगानीकर्ताले विदेशी लगानीमा संचालित उद्योगको कारोवार बन्द गरी बर्हिगमन हुन चाहेमा लगानीको सेयर वा उद्योग विक्री गरी वाहिरिन पाउने उल्लेख छ । बर्हिगमन गर्न चाहने विदेशी लगानीकर्ताले पूर्व स्वीकृतिका लागि तोकिए बमोजिमको ढाँचामा सक्षम अधिकारी समक्ष निवेदन दिनुपर्ने छ ।

त्यस्तै मस्यौदामा विदेशी लगानीमा स्थापित उद्योगलाई आधारभुत सेवा उपलब्ध गराउन, जग्गा प्राप्तिमा सहज गर्न वैदेशिक लगानीका सम्वन्धमा आवश्यक सूचना तथा त्यससम्वन्धी परामर्श सेवा उपलब्ध गराउने काम एकल विन्दु सेवा केन्द्रबाट सम्पादन हुने उल्लेख छ ।

विदेशी लगानीका जलविद्युत आयोजना, खनिजजन्य उद्योग,हवाइ कम्पनीलगायतलाई आयकरमा छुट दिने उल्लेख छ। त्यसैगरी विद्युत वा पूर्वाधार संरचना विकास आयोजनाको निर्माणमा प्रयोग हुने सामग्रीमा विदेशी लगानीकर्ताले तिर्नुपर्ने कर तथा अन्य महशुल वापत त्यस्तो आयोजनाले उत्पादन वा निर्माण गर्ने प्रतिइकाई निर्माण लागतका आधारमा सरकारले निर्धारण गरे बमोजिमको एकमुष्ट नगद अनुदान तयस्तो आयोजना कार्यन्वयन गर्ने उद्योगलाई प्रदान गरिने छ ।

विदेशी लगानीको स्वीकृति प्राप्त विदेशी लगानीकर्ताले लगानी तथा आर्जित रकम फिर्ता लैजान सक्नेछन् । लगानीकर्ताले विदेशी लगानीबाट प्राप्त मुनाफा वा लाभांश वापतको रकम फिर्ता लैजान सक्नेछन् ।

त्यस्तै विदेशी लगानीकर्ता वा गैर आवासीय नेपालीले नेपाल धितोपत्र बोर्डमा सूचीकृत विदेशी लगानी सम्वन्धी कानुनको संसोधन र एकिकरण गर्न बनेको विधेयकको मस्यौदा सम्वन्धमा अन्तरक्रिया छलफल । सो अवसरमा सहभागी उद्योगी तथा कानुन व्यवसायीहरुले मस्यौदाका त्रुटिहरुको बारेमा सुझाव राखेका थिए ।

पूर्व सचिव भेषबहादुर थापाले वर्हिगमनमा कडाई गर्नु उचित नभएको बताए । वर्हिगमनमा कडाई गर्दा लगानीकर्ताहरु आउन नचाहने उनको धारणा थियो । त्यस्तै राष्ट्रिय उद्योगलाई भन्दा अन्तरराष्ट्रिय उद्योगलाई बढी सुविधा दिँदा स्वदेशी लगानीकर्ताले नेपालमा लगानीका लागि विदेशीमाध्यम प्रयोग गर्न बाध्य हुने बताए ।

अवसरमा घरेलु तथा साना उद्योग महासंघका पूर्वअध्यक्ष सुरेश प्रधानले नेपाली उद्योगले भन्दा बिदेशीले बढी सुविधा पाउन नहुने बताए ।

कार्यक्रममा उद्योग मन्त्री नविन्द्रराज जोशीले विदेशी लगानीबाट नेपाललाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने भएकोले यसलाई अवसरको रुपमा लिएको बताए । साथै हाल बन्द रहेका उद्योगहरु मजदुरका कारण मात्र बन्द नभएकोले अनय कारण खोज्नुपर्नेमा जोड दिए ।

मन्त्री जोशीले लगानीकर्ताको पैसाको सुरक्षा सरकारको प्रमुख दायित्व भन्दै यसमा विशेष ध्यान दिनु आवश्यक रहेको बताए । उनले अनलाइनबाट उद्योग दर्ताको सुविधा जतिसक्दो चाँडै उपलब्ध गराउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्