Logo

नागढुंगा सुरुङमार्ग निर्माण : ५७२ मिटरमा कंक्रिट लाइनिङ बाँकी, फ्लाईओभरका लागि जग्गा प्राप्तिमा अझै झन्झट

नागढुंगा सुरुङमार्ग निर्माण : ५७२ मिटरमा कंक्रिट लाइनिङ बाँकी, फ्लाईओभरका लागि जग्गा प्राप्तिमा अझै झन्झट



काठमाडौं । गएको बैशाख ३ मै वारपार छेडिएको नागढुंगा–नौविसे सुरुङमार्गको ५ सय ७२ मिटर खण्डमा कंक्रिट लाइनिङ बाँकी रहेको छ । करिव अन्तिम चरणमा रहेको उक्त सुरुङमार्गको ब्रेकथ्रुसँगै अन्य संरचना निर्माण पनि करिव सम्पन्न भईसकेको छ । तर, ब्रेकथ्रु भएको मुख्य सुरुङमार्गको केहि भागमा कंक्रिट लाइनिङ फ्लाईओभर निर्माणको पनि केहि अंश मात्रै बाँकी रहेको छ ।

कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतीय स्वीच थिचेर गत बैशाख ३ मा ब्रेकथ्रु गरेका थिए । सहायक र मुख्य सुरुङमार्ग छेडिएपनि यो पूर्ण रुपमा निर्माण भई संचालनमा आउन भने अझै केहि समय लाग्ने नागढुंगा सुरुङ निर्माण परियोजनाका परिआयोजना प्रमुख नविनमान श्रेष्ठ बताउँछन् ।

उनका अनुसार काठमाडौंतर्फको फ्लाईओभर, सुरुङभित्रको फिनिसिङ, पहुँचमार्गलगायतका कार्य गर्न अझै केहि समय लाग्नेछ । आयोजनाले इभ्याकुएशन सुरुङ भने गत बर्ष साउन २२ गते नै ब्रेकथ्रु गरिसकेको छ ।

सरकारले जाइकासँग १६ अर्ब रुपैयाँ ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा उक्त ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भए पनि प्रभावितले पुनः जग्गाको मुआब्जा माग गरेपछि समस्या बल्झिँदै गएको थियो । हाल मुआब्जाको केहि समस्या भने अझै पनि बाँकी नै छ । केहि स्थानीयहरु मुआब्जाकै बिषयलाई लिएर अदालतसम्म पुगेका छन् ।

उक्त सुरुङमार्गसम्म पुग्नका लागि आवश्यक फलाईओभर निर्माण पनि काठमाडौंको बलम्बुमा धमाधम भईरहेको छ । तर, फ्लाईओभर निर्माण भईरहेको स्थानकै केहि स्थानीयले क्षतिपूर्ति माग गरेका छन् । माग गरेकोमध्ये ९५ प्रतिशतले क्षतिपुर्ति लिएपनि ५ प्रतिशत स्थानीयले अझै नमानेको अवस्था छ । जसका कारण पहुँचमार्गका रुपमा रहेको फ्लाईओभर निर्माणमा आयोजनाले केहि झमेला व्यहोरिरहेको परियोजना प्रमुख श्रेष्ठले बताए ।

सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा–आन्दो कर्पोरेशनले पाएको थियो । २०७६ देखि निर्माण सुरु गरेको कम्पनीले कोरोना महामारीमा काम गर्न नपाएको भन्दै म्याद थप्न आग्रह गरेपछि नेपाल सरकारले आयोजनाको म्याद २०२४ अप्रिलसम्म पुर्याएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुंगा बलम्बुसम्मको दुरी तीन किलोमिटरले कम हुनेछ । सडकको दुरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश बिन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघण्टा समय बचत हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL