Logo

दुई महिनाभित्र काठमाडौं र पोखरामा फोरजी, थ्रीजीको क्षमता विस्तार गरिदै

दुई महिनाभित्र काठमाडौं र पोखरामा फोरजी, थ्रीजीको क्षमता विस्तार गरिदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फोरजी सेवा सञ्चालनको अनुमति दिएसँगै नेपाल टेलिकमले सोको तयारी थालेको छ । आगामी दुई महिनाभित्र फोरजी सेवा सञ्चालन गर्ने योजना सहित काम शुरु गरेको टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए । ‘शुक्रवारसम्ममा रोल आउट प्लान बुझाउन प्राधिकरणको निर्देशन छ,’ उनले भने ‘त्यसका लागि प्राविधिक टोलि लागेका छन् ।’

अधिकारीका अनुसार शुरुमा काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराइने छ । त्यसपछि विस्तारै अन्य शहरी क्षेत्रमा फोरजी उपलब्ध गराइने उनले जानकारी दिए । अधिकांश प्रयोगकर्ताको मोवाइल फोरजी सपोर्ट नगर्ने भएकोले शुरुमा शहरी भेगमा सो सेवा उपलब्ध गराउन लागेको उनले जानकारी दिए ।

हाल सञ्चालनमा रहेको थ्रीजीमा भएको गुनासो बढ्न थालेसँगै टेलिकम क्षमता विस्तारमा लागि परेको छ । हाल ग्रामिण भेगमा थ्रीजी सेवाको गुणस्तर बढाउन क्षमता विस्तारलगायत काम अघि सारेको उनले जानकारी दिए । अधिकारीका अनुसार ग्रामिण भेगमा थ्रीजी र शहरी क्षेत्रमा फोरजी सेवा सञ्चालनको योजना टेलिकमको छ ।

प्राधिकरणले फोरजी संचालनको अनुमती दिएसँगै सेवाप्रदायक कम्पनीले प्राधिकरणमा सेवा विस्तार सम्बन्धी कार्ययोजना पेस गर्नु पर्नेछ । फोरजी प्रविधिमा उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन सक्नेछन् । त्यसैगरी इन्टरनेटमा आधारित टेलिफोन (आईपी टेलिफोन ) सेवा, गेमिङ उच्च डेफिनेसनको भिडियो सेवा, भिडियो कन्फ्रेरेन्सिङ लगायतका सेवा समेत चलाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्