Logo

रिलायन्ससँगै ‘प्राइस वार’मा उत्रियो बीएसएनएल, ‘लाइफटाइम’ निःशूल्क भोइस कलको तयारी

रिलायन्ससँगै ‘प्राइस वार’मा उत्रियो बीएसएनएल, ‘लाइफटाइम’ निःशूल्क भोइस कलको तयारी


बिजखबर संवाददाता
0
Shares

लगभग युद्ध सुरु भइसकेको छ । रिलायन्सले सुरु गरेको यो पैसाको युद्ध (प्राइस वार)ले कम्पनीको आर्थिक स्वास्थ्य कस्तो बनाउने त्यो तत्काल अनुमान गर्न त सकिदैंन । तर सेवा प्रदायकबीचको यो लडाईंमा यतिबेला भारतीय टेलिफोन प्रयोगकर्ता भने फाईदामा नै हुनेछन् । सायद अनौठो उदाहरण नै बन्नेछ, जहाँ कम्पनीबीचको यस्तो युद्धले उपभोक्ता बिना खर्च सेवाको उपभोग गर्न पाउँदैछन् ।

BSNL_india

मुकेश अम्बानीले केहि समय अघि रिलायन्सका ग्राहकलाई निःशूल्क टेलिफोन र इण्टरनेट उपलब्ध गराउने घोषणा गरेपछि प्रतिस्पर्धी दुरसञ्चार सेवा प्रदायकलाई टाउको दुखाई बनेको थियो । पछि रिलायन्सले आफ्ना फोरजी प्रयोगकर्तालाई यो सेवा सुरु नै गर्याे । त्यसपछि नै हो एयरटेलको कल सङ्ख्या घट्न थालेको । अनुमान थियो निजी क्षेत्रबाटै रिलायन्सलाई अब बलियो टक्कटर आउनेछ । तर अनुमान विपरित भारत सरकार अन्तर्गतको भारतीय सञ्चार निगम लिमिटेड(बीएसएनएल)ले रिलायन्स भन्दा एक कदम अघि बढेर टुजी र थ्रीजी प्रयोगकर्तालाई पनि निःशूल्क भोइस कल उपलब्ध गराउने तयारी गर्दैछ ।

भारतीय सञ्चार माध्यमका अनुसार बीएसएनएलले घोषणा गरेको यो प्याकेज रिलायन्सको भन्दा पनि निकै सस्तो हुनेछ । रिलायन्सले सुरु गरेको जीरो भोइस ट्यारिफ प्लानको प्रवेश मूल्य अहिले १ सय ४९ भारतीय रुपिया रहेको छ । ‘रिलायन्स जियोले विस्तार गरिरहेको बजारको हामीले सुक्ष्म विश्लेषण गरिरहेका छौं । हामी पनि लाइफटाइम फ्रि भोइस प्लानका साथ अर्को बर्ष आउँदैछौं,’ बीएसएनएलका अध्यक्ष तथा प्रबन्ध निर्देशक अनुपम श्रीवास्तवले भारतीय सञ्चारमाध्यमलाई भनेका छन् । उनका अनुसार आगामी जनवरी महिनादेखि बीएसएनएलले यस्तो सेवा सुरु गर्ने योजना बनाएको छ ।

भारतका केरला, हिमाञ्चल, हरियाणा, ओडिसा, पञ्जाब र उत्तर प्रदेशमा बीएसएनएलको बलियो उपस्थिती छ । श्रीवास्तवका अनुसार ब्रोडब्याण्ड पहुँचमा रहेका मोबाइल प्रयोगकर्तालाई समेत यो सुविधा उपलब्ध गराइनेछ । बीएसएनएल पनि यो युद्धमा समाहित भएपछि एयरटेल, भोडाफोन, आइडिया जस्ता अन्य सेवा प्रदायक अहिले ट्यारिफ घटाउनुपर्ने दबाबमा छन् ।

प्रतिक्रिया दिनुहोस्