Logo

भन्सार छलीका जुत्ता भित्र्ने क्रम बढ्यो, धराशयी बन्दै नेपाली उद्योग

भन्सार छलीका जुत्ता भित्र्ने क्रम बढ्यो, धराशयी बन्दै नेपाली उद्योग


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाली बजारमा भन्सार छलीका जुत्ता तथा चप्पन भित्रने क्रम बढेको छ । पछिल्लो समय भारतीय सीमा नाकाबाट भन्सार छलीका जुत्ता भित्र्ने क्रम बढेको सम्बद्ध व्यवसायीहरु बताउँछन् । दशै तथा तिहारको समयमा नेपाली बजारमा जुत्ता तथा चप्पल बढी खपत हुने भएपनि भन्सार छलीबाट आउँदा नेपाली उद्योगीहरु मर्कामा परेका हुन् ।

हाल तस्करहरुले भारतीय सीमा नाकाबाट साइकल तथा मोटरसाइकलबाट भन्सार छली गरेर नेपाली बजारमा जुत्ता भित्र्याउने गरेका छन् । हाल नेपाली बजारमा विक्री हुनेमध्ये झण्डै ३० प्रतिशत हिस्सा जुत्ता तथा चप्पल भन्सार छलीबाट आउने गरेको नेपाल फुटवेयर म्यानुफ्क्चरर्स एशोसियशनका पूर्व अध्यक्ष तथा शिखर शुका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । ‘हाल भारतीय सीमा नाका तथा तराइका जिल्लामा विक्री हुनेमध्ये झण्डै ५० प्रतिशत जुत्ता भन्सार छलीबाट भित्रिरहेका छन्,’ उनले भने, ‘जसले गर्दा नेपाल सरकारले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ भने सोही अनुरुप नेपाली व्यवसायीहरु मर्कामा परेका छन् ।’

यसैगरी भन्सारबाट पनि जुत्ता चप्पल न्युन विजकिकरण भएर भित्रदा नेपाली उद्योगीहरुलाई समस्या परेको प्रसाइ बताउँछन् । ‘हाल व्यापारीहरुले १ हजार रुपैयाँ पर्ने जुत्ता २ सय रुपैयाँ विल बनाएर भित्र्याइरहेका छन्,’ उनले भने, ‘त्यस्ता जुत्ता तथा चप्पलसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ ।’

केही समय अघिसम्म नेपाली बजारमा आयात हुने जुत्तामध्ये ८० प्रतिशतभन्दा बढी चीनबाट आउथ्यो । तर पछिल्लो समय भारतबाट बढी आयात हुन थालेको छ । खुला सीमा नाका तथा भन्सारबाट पनि सहज रुपमा ल्याउन सकिने भएकाले भारतबाट आयात बढेको हो ।

सीमा नाकाको बजारमा भन्सार छलीका भारतीय जुत्ताले बजार लिइरहेको फुटवेयर म्यानुफ्याक्चरर्स एशोसियशनका अध्यक्ष तथा कोसेली शुका प्रवन्ध निर्देशक रविन श्रेष्ठले बताए । ‘हाल सरकारले आयातित जुत्ताको भन्सार बढाएका कारण छली गरेर ल्याउने क्रम बढेको छ,’ उलने भने, ‘त्यस्ता जुत्ता चप्पलले तराइमा ठूलो बजार हिस्सा लिएको छ ।’

यता भन्सार प्रशासनले भने भन्सार छली तथा न्युन विजकीकरणबाट जुत्ता चप्पल भित्रने क्रम बढेको गुनासो आएपछि सो सम्बन्धमा छानविन बढाएको छ । हाल भन्सार छलीबाट सामान भित्रन सक्ने सम्भावित स्थानहरुमा प्रहरीसँगको सहकार्यमा निगरानी बढाइएको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले बताए । ‘खुला सिमानाका कारण कतिपय स्थानबाट छलीका जुत्ता भित्रियो भन्ने गुनासो आएको छ,’ उनले भने, ‘त्यसलाई पनि न्युनिकरण गर्न प्रहरी प्रशासन परिचालन गरिएको छ ।’

पुर्नमूल्याङ्कन गरिँदै

सरकारले आयातित जुत्ता चप्पलको मूल्यमा पुर्नमूल्याङ्कन गर्ने भएको छ । जुत्ता तथा चप्पलहरु कम मूल्यमा भित्रिएको गुनासो बढेपछि त्यसको पुर्नमूल्याङ्क गर्न लागेको हो । ‘हामीले आयातित जुत्ता चप्पलको भन्सार मूल्य र बजारमा मूल्यको वारेमा अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘भन्सार मूल्य र बजारमा मूल्यमा अन्तर आउने वित्तिकै पुर्नमूल्याङ्क गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्