Logo

अबैधानिक रुपमा होर्डिङ बोर्ड राख्दै त्रिभुवन विमानस्थल, हटाउने तयारीमा महानगर

अबैधानिक रुपमा होर्डिङ बोर्ड राख्दै त्रिभुवन विमानस्थल, हटाउने तयारीमा महानगर


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा राखिएका होर्डिङ बोर्ड हटाउने तयारी गरेको छ । होर्डिङ बोर्डले विमानस्थलको सौन्दर्य विगारेको भन्दै हटाउने तयारी थालेको हो । विमानस्थल परिसरमा वर्षौंदेखि विभिन्न कम्पनीले आफ्ना उत्पादनको विज्ञापन गर्न होर्डिङ बोर्ड राख्दै आएका छन् ।

यसअघि पनि ती होर्डिङबोर्ड हटाउन आग्रह गरेपनि विमानस्थलले वास्ता गरेको थिएन । विमानस्थलको असहयोगपछि बोर्ड हटाउन सहमति माग्दै पर्यटन मन्त्रालयमा पत्राचार गरेको महानगरपालिकाका राजस्व विभाग प्रमुख महेश काफ्लेले जानकारी दिए । ‘मन्त्रालयमा पत्राचार गरेका छौं’ उनले भने ‘सहमतिपत्र आए तुरुन्तै हटाउने छौं ।’ महानगरपालिकाले एयरपोर्ट भित्रका होर्डिङ बोर्ड पटक–पटक हटाउने प्रयास गरेपनि विमानस्थल व्यवस्थापनको असहयोगका कारण हटाउन नसकेको हो ।

काफ्लेका अनुसार महानगर बक्यौता राजस्व असुलेर होर्डिङ बोर्ड हटाउने तयारी महानगरले गरिरहेको छ । महानगरले होर्डिङ बोर्डबापत प्रति स्क्वायर फिट वार्षिक ३ सय रुपैयाँ राजस्व लिने गरेको छ ।

विमानस्थल क्षेत्रमा सार्वजनिक स्थल भएकोले होर्डिङ बोर्ड राख्नु अवैध भएको काफ्लेले जानकारी दिए । तर विमानस्थल संवेदनशिल क्षेत्र भएकोले पनि महानगरपालिकाले बोर्ड नराख्न निर्देशन दिन नसक्ने काफ्लेले जानकारी दिए । यसका लागि सरकारको सहयोगको आवश्यकता पर्छ । सरकारले अनुमती दिएको अवस्थामा मात्र महानगरपालिकाले होर्डिङबोर्ड हटाउन सक्छ ।

यता त्रिभुवन विमानस्थलका महानिर्देशक देवानन्द उपाध्यायले भने त्यसवारे जानकारी नभएको बताए । महानगरपालिकाले बाहिरका होर्डिङ बोर्डमात्र हटाउन मिल्ने उनले जानकारी दिए । ‘विमानस्थल भित्रको होर्डिङ बोर्ड हटाउने अधिकार महानगरपालिकालाई छैन,’ उनले भने । महानगरले भने सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राख्न नपाइने बताएको छ ।

२०७० मा बनेको विज्ञापन प्रचारप्रसार सामग्री नियमन गर्ने नीतिले सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राख्न बन्देज लगाएको छ । होर्डिङ बोर्डले राजधानीको सौन्दर्य विगारेको भन्दै नीतिले त्यस्ता बोर्ड हटाएर निश्चित ठाउँमा मात्र डिजिटल होर्डिङ बोर्ड राख्न पाउने व्यवस्था गरेको छ । नीति बनेयता महानगरपालिकाले महानगरभित्र होर्डिङ बोर्ड हटाउने अभियान थालेको काफ्लेले जानकारी दिए ।

विमानस्थलभित्र हाल सामसुङ, टर्किस एयरलाइन्स, हुन्डाई कार, ग्रीनल्यान्ड इन्टरनेसनल कम्पनी, टिटोनी घडी, बाजुरत्न एजेन्सी, लगायतले होर्डिङ बोर्ड राखेका छन् । कम्पनीले विमानस्थलसँग सम्झौता गरेर कम्पनीले होर्डिङ बोर्ड राखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL