Logo

पीपीपी मोडलमा संचालन गरिँदै नेपाल औषधि, थप ७ बन्द उद्योग संचालनको तयारी

पीपीपी मोडलमा संचालन गरिँदै नेपाल औषधि, थप ७ बन्द उद्योग संचालनको तयारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडलाई सार्वजनिक–निजी–साझेदारी (पीपीपी) मोडलमा संचालन गर्ने भएको छ । सरकारले मात्र संचालन गर्दा त्यसको पर्फमेन्स राम्रो नभएकाले निजी क्षेत्रको सहभागितामा संचालन गर्न लागिएको उद्योग मन्त्री नविन्द्रराज जोशीले बताए । ‘तत्कालको लागि सरकारले आफैले संचालन गर्ने छ,’ उनले भने, ‘सामान्य रुपमा संचालनमा आएपछि निजी क्षेत्रलाई जिम्मा लागइने छ ।’

जोशीका अनुसार कम्पनीमा नेपाल सरकारको लगानी रहेपनि व्यवस्थापनको जिम्मा भने निजी क्षेत्रलाई दिइने छ । सरकारले नेपाल औषधिमा निजी क्षेत्रलाई प्रतिस्पर्धाको आधारमा भित्र्याउने भएको छ । साथै, निजी क्षेत्रलाई पनि प्रोत्साह स्वरुप सेयर इक्वीटी दिइने भएको छ । ‘हाल सरकारले आफैले व्यवस्थापनको जिम्मा लिँदा राजनीति हावी भएर उत्पादन नै बन्द हुन पुग्यो, उनले भने, ‘आगामी दिनमा यस्तो नहोस भन्नका लागि व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागिएको हो ।’ तर निजी क्षेत्रलाई कति सेयर दिइने भन्ने विषयमा टुङ्गो नलागेको जोशीले जानकारी दिए ।

थप ७ वटा बन्द उद्योग संचालन हुँदै

सरकारले हाल बन्द अवस्थामा रहेका थप ७ वटा उद्योगलाई संचालनमा ल्याउने भएको छ । जस अनुसार बुटवल धागो कारखाना, नेपाल मेटल उद्योग, गोरखकाली टायर, नेपाल ओरेन्टियल म्याग्नेसाइट, कृषि औजार, चिनी उद्योग र हेटौटा कपडा उद्योगलाई सरकारले नै संचालनमा ल्याउने तयारी गरेको मन्त्री जोशीले जानकारी दिए । तर, आगामी दिनमा ति उद्योगलाई पीपीपी मोडल अन्तरगत संचालन गरिने समेत उनले जानकारी दिए ।

कात्तिकबाट ग्याँस उत्खनन शुरु
मन्त्रालयले कात्तिकबाट ग्याँस तथा खानी उत्खनन् शुरु गर्ने भएको छ । जसको लागि पहिलो चरणमा इमाडोलमा रहेको प्राकृतिक ग्याँसको उत्खनन शुरु गरिने जोशीको भनाइ छ । ‘हामीले आगामी दिनमा ग्याँस तथा खानी उत्खननलाई द्वुत रुपमा अघि बढाउने योजना बनाएका छौं,’ उनले भने, ‘जस अन्तरगत पहिलो चरणमा ग्याँस उत्खनन् गर्न लागिएको हो ।’

प्रतिक्रिया दिनुहोस्
MBL