Logo

सार्वजनिक संस्थानमा सरकारको ऋण बढ्यो, शेयर घट्यो, ‘संस्थानमा सुधारको संकेत’

सार्वजनिक संस्थानमा सरकारको ऋण बढ्यो, शेयर घट्यो, ‘संस्थानमा सुधारको संकेत’


बिजखबर संवाददाता
0
Shares

सार्वजनिक संस्थानमा सरकारको ऋण बढेको छ भने शेयर लगानी घटेको छ । आफ्नो स्वामित्व रहेका संस्थानमा थप लगानी नगर्ने नीतिअनुसार शेयर लगानी घटे पनि ऋण भने बढेको छ ।

महा लेखा नियन्त्रकको कार्यालयले आज बिहीवार सार्वजनिक गरेको प्रतिवेदनकाअनुसार आव २०७२/७३मा सरकारले संस्थानमा २० अर्ब ५१ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेको छ । यो अघिल्लो आव २०७१/७२को भन्दा ४ अर्ब ३८ करोड ३३ लाख रुपैयाँले बढी हो । त्यस्तै, समिक्षा वर्षमा सरकारले संस्थानमा १२ अर्ब ९ करोड ४ लाख रुपैयाँ शेयर लगानी गरेको छ । यो अघिल्लो आवको भन्दा २ अर्ब २० करोड ३ लाख रुपैयाँले कमी भएको कार्यालयको तथ्यांक छ ।

ऋण बढेपनि संस्थानबाट आउने आम्दानी बढेपछि सार्वजनिक संस्थानमा सुधारको संकेत देखिएको छ । समिक्षा वर्षमा सरकारले संस्थानबाट ३८ अर्ब २६ करोड रुपैयाँ प्राप्त गरेको छ । कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३मा सरकारले सार्वजनिक संस्थानबाट साँवा फिर्तामार्फत १३ अर्ब ६९ करोड रुपैयाँ, ब्याज असुलीबाट  ३ अर्ब ९ करोड ब्याजअसुलीबाट र  लाभांशबाट १४ अर्ब ९८ करोड रुपैयाँ प्राप्त गरेको हो । त्यस्तै, संस्थानबाट आउने अन्य राजस्वबाट सरकारले ६ अर्ब ५० करोड अन्य प्राप्त गरेको हो । संस्थानबाट सरकारलाई हुने आम्दानी बढ्नुले संस्थानमा सुधारको संकेत गर्ने सरोकारवाला बताउँछन् ।

आर्थिक वर्ष २०७२/७३सम्ममा सरकारको सार्वजनिक संस्थानमा कुल लगानी ३ खर्ब ३६ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । कुल १ सय ३० ओटा संस्थानमा १ खर्ब ८१ अर्ब ८६ करोड रपैयाँ ऋण र १ खर्ब ४५ अर्ब ९९ करोड रुपैयाँ शेयर लगानी भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्