Logo

९० प्रतिशतले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी, ८ महिनामा भित्रियो साढे ५ अर्ब

९० प्रतिशतले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी, ८ महिनामा भित्रियो साढे ५ अर्ब



काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनामा नेपालमा गत आवको सोही अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी झण्डै ९० प्रतिशतले बढेको छ । गत आवको पहिलो ८ महिनामा २ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ मात्रै भित्रिएको यस्तो लगानी चालु आवको सोही अवधिमा बढेर ५ अर्ब ६३ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यसै अवधिमा नेपालबाट फिर्ता जाने लगानीमा भने झण्डै शतप्रतिशतको गिरावट आएको छ ।

राष्ट्र बैंकका अनुसार नेपालबाट विदेशी लगानीकर्ताले पछिल्लो ८ महिनामा जम्मा ७८ लाख रुपैयाँ मात्रै फिर्ता लिएका छन् । यो गत आवको यहि अवधिको तुलनामा ९९ प्रतिशतले कम हो । गत आवको यहि अवधिमा नेपालबाट विदेशी लगानीकर्ताहरुले १ अर्ब ८० करोड रुपैयाँ फिर्ता लगेका थिए । यसरी चालु आवको ८ महिनामा नेपालमा ५ अर्ब ६२ करोड रुपैयाँ खुद वैदेशिक लगानी भित्रिएको छ ।

गत आर्थिक बर्षभरी नेपालमा ७ अर्ब ७६ करोड ८६ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिँदा १ अर्ब ८० करोड रुपैयाँ मात्रै लाभांस, फाईदालगायत बाहिरिएको थियो । यसरी गत बर्ष नेपालले ५ अर्ब ९६ करोड रुपैयाँ खुद वैदेशिक लगानी आम्दानी भित्र्याएको थियो ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी नयाँ परियोजना, स्थापित परियोजना सेयर लगानी र व्यवस्थापनमार्फत भित्रिँदै आएको छ । त्यसैगरी लगानी फिर्ता भने नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले लाभांस, रोयल्टी, व्यवस्थापनको लाभांसलगायतका शिर्षकमा लैजान्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL