Logo

दुई महिनामा ५ ओटा ग्यास उद्योग दर्ता, ६६ हजार मेट्रिक टन क्षमता

दुई महिनामा ५ ओटा ग्यास उद्योग दर्ता, ६६ हजार मेट्रिक टन क्षमता


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षमा ५ ओटा ग्यास उद्योग दर्ता भएका छन् । ती उद्योगले उद्योग विभागबाट सञ्चालनको स्वीकृति पाइसकेको बताइएको छ । विभागका अनुसार बुद्ध इण्डष्ट्रिज प्रालि, नोवेल ग्यास उद्योग प्रालि, सान्भी ग्यास उद्योग प्रालि, पाथिभरा ग्यास उद्योग प्रालि र विरता ग्यास उद्योग प्रालिले सञ्चालनको स्वीकृति लिएको विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।

ती उद्योगहरुको बार्षिक क्षमता ६६ हजार मेट्रिक टन रहेको छ । यी उद्योगमा रु.७४ करोड ७६ लाख बराबरको लगानी रहेको छ । यी उद्योगले २ सय ५६जनालाई रोजगारी दिनेछन् ।

दर्ता भएका उद्योगमध्ये नोवेल ग्यास उद्योगमा रु.२० करोड ६० लाख बराबरको लगानी छ । नोवेल ग्याँस उद्योग प्रालि साउन ४ गते दर्ता भएको हो । सो उद्योग धनुषाको नक्टाझिज गाविसको वडा नम्वर १ मा सञ्चालन हुने भएको हो । उद्योगले बार्षिक ६ हजार ३ सय ९० मेट्रिक टन ग्यास उत्पादन गर्ने छ । त्यस्तै उद्योगले ४९ जनालाई रोजगारी दिने बताइएको छ ।

बुद्ध इण्डष्ट्रिज प्रालि रुपन्देहीको सिक्टहन गाविसमा संचालन गर्न लागिएको हो । सो उद्यागेमा रु.१५ करोड बराबरको लगानी छ । त्यस्तै उद्योगले ४७ जनालाई रोजगारी दिने छ । बुद्ध इण्डष्ट्रिजले १२ हजार मेट्रिक टन ग्यास उत्पादन गर्ने छ ।

झापाको विर्तामोड नगरपालिकामा सञ्चालनमा आउन लागेको पाथिभरा ग्यास उद्योग प्रालि गत भदौ १ गते दर्ता भएको हो । सो उद्योगमा ११ करोड बराबरको लगानी रहेको छ । सो उद्योगले बार्षिक १२ हजार मेट्रिक टन ग्यास उत्पादन गर्ने गरी प्रस्ताव पेस गरेको थियो । उद्योगको संचालकमा भुपालराज कटुवाल रहेका छन् । उद्योगले ५६ जनालाई रोजगारी दिने बताइएको छ ।

झापामै सञ्चालन गर्न विरता ग्याँस उद्योगले सोमवार अनुमति पाएको छ । सो उद्योगको बार्षिक क्षमता १२ हजार मेट्रिक टन रहेको छ । १५ करोड लगानीको सो उद्योगले ४८ जनालाई रोजगारी दिने बताइएको छ ।

त्यस्तै सान्भी ग्यास उद्योग प्रालिले सुनसरीको बकलोरीमा उद्योग स्थापना गर्ने उद्देश्यका साथ विभागका प्रस्ताव पेस गरेको छ । उद्योगको प्रस्ताव साउन २१ गते स्वीकृत भएको छ ।

विभागका अनुसार कुनै पनि ग्यास उद्योग सञ्चालनका लागि उद्योग विभागमा प्रस्ताव आएको अवस्थामा विभागले शुरुमा आयल निगममा सो फाइल पठाउँछ । आयल निगमले फाइल अध्ययन गरेर उपयुक्त लागेको अवस्थामा विभागलाई दर्ताको सिफारिस गर्छ । त्यसपछि मात्र विभागले दर्ता प्रक्रिया अघि बढाउने बताइएको छ । विभागबाट दर्ता स्वीकृति पाएपछि उद्योगले वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्र उद्योग सञ्चालन गर्न पाउने नियम छ ।

प्रतिक्रिया दिनुहोस्