Logo

महासङ्घलाई व्यक्तिगत ‘ईगो’ भन्दा माथि राख्न मिल्नुको विकल्प देखिएन

महासङ्घलाई व्यक्तिगत ‘ईगो’ भन्दा माथि राख्न मिल्नुको विकल्प देखिएन


रामराजा श्रेष्ठ
0
Shares

सरकार राजस्व मुखि हुँदा देशमा उद्योग कलकारखाना फस्टाउन सकेन । जसले गर्दा व्यवसायीहरु व्यापार तर्फ आकर्षित भए । यस्तै देशको राजनीतिक अवस्थाले पनि व्यवसायीलाई बदनाम बनाइरहेको छ ।

लामो समयपछि भर्खरै मात्र नेपाल उद्योग वाणिज्य महासंघमा दुइ पक्षबीच देखिएको विवाद मिलेको छ । जसले गर्दा उद्योगी व्यवसायीहरुम महासंघ प्रति केही आशा पलाएको छ । नेपालको औद्योगिक अवस्था, श्रम समस्या, महासंघको विवादजस्ता विषयबस्तुमा केन्द्रित रहेर बिजखबरका रामराजा श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पशुपति मुरारकासँग गरेको कुराकानीको सार ः

४८ औं साधारणसभाले नयाँ नेतृत्व चयन गरेपछि पनि महासङ्घ दुई धारमा देखियो । तर पछिल्ला दिनमा महासङ्घमा तपाइको सक्रियता बढेपछि त्यस्तो धारबीचको विवाद समाधान भयो भन्ने चर्चा छ । आखिर वास्तविकता के हो ?

जुन् विवादको कुरा आएको छ, यो भनेको विधानको पालनासँग जोडिएको विषय हो । नेपाल उद्योग वाणिज्य महासङ्घ मात्र होइन कुनै पनि सङ्घसंस्था विधान अनुसार चल्नुपर्छ । हाम्रो मान्यता पनि त्यहिं हो । विधानमा जे व्यवस्था छ त्यो सबैको लागी लागु हुनुपर्छ ।

अर्कोतिर महासङ्घ नेपालभरका व्यवसायीको आशा र भरोसाको केन्द्र हो । विवादले व्यवसायीका समस्या उठान गर्दै आएको ५० वर्ष पुरानो इतिहास बोकेको संस्था नै धरापमा पर्ने अवस्था आयो । यो अवस्थामा हामीसँग दुईओटा विकल्प थिए । वैधानिकताको विषय उठान गरेर वाहिर बस्ने वा महासंघ भित्रै रहेर व्यवसायीका समस्या सम्बोधन गर्ने । महासङ्घलाई व्यक्तिगत ‘ईगो’ भन्दा माथि राख्न मिल्नुको विकल्प देखिएन ।

खासगरी महासङ्घले आयोजना गर्ने विभिन्न कार्यक्रममा तपाईको अनुपस्थिती यहिं विवादले गर्दा हो अथवा केही ?

यसमा केही सत्यता छ । पहिलो त महासंघमा सहभागि नभएकोले त्यस्ता कार्यक्रममा उपस्थित हुन त्यति सहज भएन । अर्को विषय भनेको महासंघमा चुवान पछि पनि पक्ष र विपक्ष भन्ने रहिरहयो । जुन पक्षले अध्यक्ष जित्छ, उसले अर्कोपक्षबाट आउनेलाई कार्यक्रममा सहभागि नगराउने तथा त्यसको जानकरी नदिने प्रचलन हाबी छ । यो परम्परा वर्तमान अध्यक्षमा मात्र होइन यस अघिका अध्यक्षमा पनि थियो । यसलाई वर्तमान अध्यक्ष प्रदिपजंग पाण्डेले पनि तोड्न सक्नु भएन । चुनावमा जो जुन पक्षबाट जितेर आएपनि काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिनु पर्छ । मलाई पनि सोही अनुसार जिम्मेवारी नदिएकै कारण गर्दा कार्यक्रमहरूमा अनुपस्थित भएको हुँ ।

भनेपछि अब विवाद मिल्यो होइन त ?

जसरी महासङ्घ भित्र विवाद छ, अवरोध भइरहेको छ भन्ने कुरो बाहिर थियो त्यस हिसाबले यो मिलेको हो । यसो भन्दैमा हामीले उठाएको विषयलाई छोडिसक्यौं भनेको चाहीं होइन । महासङ्घ जस्तो संस्थामा आबद्ध भएपछि यसको विधान नै सबैलाई नियमन गर्ने प्रमुख आधार हो । विधान अनुसार अबका कामहरू हुनुपर्छ भन्ने हाम्रो मान्यता भने कायमै छ ।

विभिन्न तथ्याङ्क हेर्ने हो भने नेपालमा उद्योगमा लगानी घट्दै गएको छ । यस्तै विदेशीले उत्पादनमुलक उद्योगमा गर्दै आएको लगानी पनि ५० प्रतिशतभन्दा बढीले घटेको छ ।नेपालमा उद्योग कलकारखाना फस्टाउन नसक्नुको मुख्य कारण के हो ?

उद्योग फस्टाउन औद्योगिक वातावरण चाहिन्छ । उद्योग भनेको व्यापारभन्दा एकदमै फरक हो । व्यापारमा वाहिरन एकदमै सजिलो हुन्छ । नाफा आउँछ सामान बेच्छन् नाफा आउँदैन बेच्दैनन् । तर, नेपालमा उद्योग खोल्नकै लागि २÷३ वर्ष लाग्छ । यस्तै कानुनी जटिलता पनि उत्तिकै रहेको छ भने प्रतिफल पनि एकदमै कम छ ।

यसैगरी अन्य मुलुकले विदेशी लगानी भित्र्याउन रेड कार्पेट विच्छ्याएका हुन्छन् । लगानीको सुनिश्चितता दिएका हुन्छन् । तर, नेपालमा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने कुनै पनि वातावरण छैन । १२ घण्टा लामो लोडसेडिङ, स्थानीय अवरोध, श्रम समस्याजस्ता विषय नेपालका प्रमुख समस्या हुन् । कुनै पनि लागानीकर्ताले नाफा कमाउनका लागि लगानी गर्ने हो । तर, उसको लगानीकै ग्यारेण्टी छैन भने उसले के आशले लगानी गर्छ ? राज्यले विदेशी लगानीकर्ता आकर्षित गर्ने वातावरण सिर्जना गर्न सकेको छैन । नेपालको तुलनामा अन्य देशमा लगानी गर्दा बढी फाइदा हुन्छ भने नेपालमा लगानीकर्ता किन आउँछन् ? उहारणका लागि भोटेकोशीलाई नै हेर्दा हुन्छ । सरकारमै भएका राजनीतिक पार्टीका सभासद तथा नेताले भोटेकोशीमा ९७ दिनसम्म काम गर्न दिएनन् । विश्वमा यसले कस्तो सन्देश दिन्छ ।

महासंघ उद्योगीहरुको संस्था हो तर त्यहाँ उद्योगी भन्दा पनि व्यापारीको वाहुल्यता बढी रहेको छ । किन देशमा व्यापार मात्र फस्टाइरहेको छ ?

वाणिज्यको प्रतिफल चाडै आउँछ भने व्यवसायबाट वाहिर पनि एकदमै सजिलो छ । उद्योग दिर्घकालिन सोचका साथ स्थापना गरिने विषय हो । जहाँ तत्कालै नाफा लिन सकिँदैन । यस्तै कुनै कारणले उद्योग बन्द गर्नु परेमा त्यहा रहेको मेशिन औजरलगायतका अचल सम्पती खेर जान्छ । यसैगरी उद्योग स्थापना गर्दा नाफा पनि बढी हुनुपर्छ । तर, नेपालमा उद्योग स्थापना गर्दा जाखिम बढी छ भने नाफा कम छ । सरकारी एने नियम, ऊर्जा संकट, स्थानीय अवरोध, श्रम समस्या जस्ता कारणले उद्योग चाडै नै बन्द हुन सक्ने अवस्था सिर्जना भयो । जसले गर्दा उद्योगमा लगानी गरेका व्यवसायीहरु पनि पश्चाताप गरिरहेका छन् ।

अहिले उद्योगीहरु पनि व्यापार तर्फ आकर्षित भइरहेका छन् । यस्तै, सरकार राजस्व मुखी भयो । उद्योग कलकारखानाबाट सरकारले लामो समयपछि मात्र राजस्व पाउन सक्छ । तर, सरकार तत्कालै जतिसक्दो धेरै राजस्व संकलन गर्ने लक्ष्य लिएर अघि बढेको छ । उसले राजस्व संकलन गर्नका लागि उद्योगभन्दा व्यापारलाई प्रोत्सान गर्दै आएको छ भने व्यवसायीले पनि व्यापारबाट बढी नाफा आर्जन गरिरहेका छन् । सरकारले नै व्यापारलाई प्रोत्साहन गरिरहेको छ भने महासंघमा चाहीँ कसरी उद्योगीहरु मात्र पुग्छन् । यदि फाइदा हुने हो भने व्यवसायीहरु उद्योग खोल्ने तर्फ आकर्षित हुनेछन् । यो वातावरण बनाउने काम सरकारको हो ।

नेपालका उद्योगीहरु कामदार पाइएन भनीरहेका छन् तर नेपालबाट दैनिक १ हजार ५ सय देखि २ हजार कामदार बैदेशिक रोजगारीमा गइरहेको छन् । किन व्यवसायीहरुले त्यस्ता कामदारलाई उद्योगका आकर्षित गर्न सकिरहेका छैनन् ?

कामदार दक्ष र अदक्ष गरी २ थरिका हुन्छन् । नेपालमा अदक्ष कामदार जति पनि छन् । तर, दक्ष कामदार वाहिरबाट ल्याउनु पर्ने अवस्था छ । यदि व्यवसायीले कुनै कामदारलाई तालिम दिएर दक्ष बनायो भने उ काम नै छाडेर खाडी मुलुकको रोजगारीमा जान्छ । तालिम दिएर दक्ष बनाएपछि उसले बढी तलब खोज्छ नेपालका उद्योगहरुले सोही अनुसार तलव दिन सक्दैन । नेपालका उद्योगहरुको अन्य देशको तुलनामा पेइङ क्यापासिटी पनि कम छ । नेपालीहरु स्वदेशमा ८ घण्टा पनि काम गर्दैनन्, विदा बढी लिन्छन्, खर्च बढी गर्छन । तर, विदेशमा १८ घण्टासम्म काम गर्न तयार हुन्छन् । यस्तै, ऊर्जा संकट, विभिन्न वाधा अवरोध जस्ता कारणले गर्दा नेपालका उद्योगहरु पूर्ण क्षमतामा चल्न सकेका छैनन् । पूर्ण क्षमतामा चल्न नसकेपछि श्रमिकलाई सोही अनुसार तलव दिन पनि सकिदैन ।

नेपाल व्यवसायी पहल (एनवीआई)ले भर्खरै मात्र नेपालका व्यवसायीहरु अव सब्भय भएर अघि बढन्पर्छ भन्ने उद्देश्यका साथ अन्तरराष्ट्रिय सम्मेलन गरेको थियो । सम्मेलनमा व्यवसायीले कर छली गरे, मिसावट गरे, उपभोक्ताको हितलाई ध्यान दिएनन् भन्ने विषय उठान भएको थियो । के नेपालका व्यवसायीको वास्तविकता यही नै हो ?

यस विषयमा मिडियाको पनि केही मात्रामा दोष छ । मिडियाले सामान्य विषयलाई पनि उच्च प्राथमिकता दिएर समाचार प्रकाशित गर्दै आएका छन् । कुनै पनि विषयको वास्तविकता के हो त्यसमा सोधखोज गर्ने धैर्यता कसैलाई पनि भएन । राम्रा पक्षलाई लुकाएर राखियो नकारात्मक विषयलाई बढी हाइलाइट गरियो । तर, यसो भन्दैमा सवै व्यवसायीहरु ठिक छन् भनेर पनि भन्दिन ।

अहिले नेपालमाजति पनि आर्थिक अपराध भइरहेका छन् यसको मख्य कारण राजनीति नै हो । नेपालको कर्मचारीतन्त्र, विभिन्न ऐन नियम, राजनीतिक अवस्थाजस्ता विषयले व्यवसायलाई असर पारिरहेको छ । आजको दिनमा नेपालमा शतप्रतिशत सर्त पुरा गरेर व्यवसाय गर्ने व्यवसायीहरु बाच्न सक्छन् ? देशको कानुन स्पष्ट छैन । ऐननियमलाई राजस्व, भन्सारलगायतका निकायले आ–आफ्नै व्याख्या गर्छन । न्यायका लागि न्यायलयमा गयो भने वर्षौ लगाइदिन्छ । के नेपालका सवै ब्यूरोक्रेसी सही छन् । उनीहरु भ्रष्ट छैनन् ।

पहिला मुरारका अर्गनाइजेशनमा तँपाइको बुवाले बढी हेर्नु हुन्थ्यो । अहिले बुवा पनि स्वगारोहण हुनुभयो । तँपाइपनि महासंघ लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ । यो अवस्थामा व्यवसाय चाहीँ कसरी  चलिरहेको छ ?

हाम्रो अर्गनाइजेशनमा म मात्र होइन मेरा दाजुहरु पनि हुनुुहुन्छ । यस्तै कतिपय व्यवसायमा पार्टनरशीपको रुपमा बसेका छौं । मारवाडी समुदायमा एउटै व्यक्तिले सवै काम हेर्दैन । आ–आफ्नो सेक्टर छुट्याइएको हुन्छ । बुवा हुँदा काम गर्न अलि सजिलो हुन्थयो । तर, अहिले त्यसको अभाव चाहीँ खड्किएको छ । त्यसलाई विस्तारै मिलाउँदै लगेका छौं । सामाजिक संघसंस्थामा आफुले जानेका विषय अन्य व्यवसायीलाई सयेर गर्न जाने हो । तसर्थ यी दुवै विषयलाई मिलाएु अघि बढिरहेका छौं ।

तँपाइहरुले बजारमा भर्खरै सिमेन्ट ल्याउनु भएको छ । यस अघि अन्य उद्योगहरु थिए । अव चाहीँ के–कस्ता व्यवसायीक योजना बनाउनु भएको छ ?

नेपालको सन्दर्शमा हाम्रो अर्गनाइजेशन त्यति ठूलो नहोला । तर, हाम्रो मुख्य उद्देश्य स्थानीय कच्चा पदार्थको प्रयोग गरेर उद्योग कलकारखाना संचालन गर्नु नै हो । हामीले व्यवसाय गर्दा आफ्नो फाइदाका साथै देशलाई पनि कसरी योगदान गर्न सकिन्छ भन्ने सोचबाट अघि बढेका छौं । अहिलको अवस्थामा देशमा उद्योग कलकारखाना स्थापना गर्नुभन्दा वाहिरबाट सामान ल्याएर बेच्नु बढी फाइदा हुन्छ । तर, हामीले देशकै कच्चा पदार्थमा आधारित रहेर सिमेण्ट, जलविद्युत्, पेट्सजस्ता उद्योगमा लगानी गर्दै आएका छौं । यसले स्थानीय कच्चा पदार्थको प्रयोग हुनुका साथै रोजगारी समेत सिर्जना गरेको छ । आगामी दिनमा पनि स्थानीय स्तरका कच्चा पदार्थ प्रयोग हुने उद्योग कलकारखाना खोल्ने छौं । तत्कालका लागि भएका उद्योगहरुको क्षमता विस्तार गर्ने योजनामा छौं ।

हाल मुरारका अर्गनाइजेशनले के–कस्ता व्यवसायमा लगानी गर्दै आएको छ ?

मुख्य त निर्माण सामग्री नै हो । जसमा क्लिङ्कर, सिमेन्ट, रड, स्टील, पेन्ट्स रहेका छन् । यसैगरी जलविद्युत् तथा वित्तीय क्षेत्रमा पनि लगानी गरेका छौं । केही मात्रा ट्रेडिङ व्यवसायमा पनि लगानी गरेका छौं ।

अन्तमा महासंघको वरिष्ठ उपाध्यको हैसियले सरकार, व्यवसायी तथा नेपाली उपभोक्तालाई के सन्देश दिन चाहनुहुन्छ ?

अहिले नेपालीहरुमा नेपालको उत्पादनप्रति विश्वास कम छ ।तर, नेपालमा पनि गुणस्तरिय सामानहरु उत्पादन हुन थालिसकेका छन् । हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिनुपर्छ । जसले गर्दा स्वदेशमा रोजगारी सिर्जना हुनुका साथै नेपाली व्यवसायीहरु पनि उत्साहित हुनेछन् । देशको सक्रमणकालिन अवस्थामा उद्योगीहरुले जसरी उद्योग चलाइरहेका छन् यो एकदमै ठूलो कुरा हो । तसर्थ राज्य संयन्त्र लगायत विभिन्न निकायले उद्योगीहरुलाई सम्मान दिनुका साथै हेर्ने दृष्टिकोणमा पनि परिवर्तन गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्