काठमाडौं । गण्डकी रिभर बेसिनमा ५ हजार २ सय ७० मेगावाट (मेवा) विजुली उत्पादनको सम्भावना भएको विभिन्न अध्ययनले देखाएको छ । गण्डकी वेसिनका तत्काल ५ हजार मेवाभन्दा विजुली उत्पादन गर्न सकिने भएपनि हाल ५ सय २३ मेगावाट मात्र उत्पादन भइरहेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
गण्डकी वेसिनका पर्ने विभिन्न १९ वटा जिल्लामा झण्डै ५ हजार ३ सय मेवा बिजुली उत्पादनको सम्भावना रहेको इन्टरनेशनल सेन्टर फर इन्ट्रिग्रेटेड माउन्टेन डेभलपमेन्ट (इसिमोड)ले गरेको अनुसन्धानले उक्त तथ्य सार्वजनिक गरेको हो । तत्काल ५ हजार ३ सय मेवा बिजुली उत्पादन हुने भएपनि हाल त्यसको १० प्रतिशतमात्र उत्पादन हुँदै आएको छ । हाल नेपालमा उत्पादन गरिएका अधिकांश जलविद्युत आयोजना गण्डकी वेसिनमा रहेका छन् ।
इसिमोडको हिमालयन एड्याप्टेसन वाटर एण्ड रिसाइलेन्स रिसर्चका अनुसार गण्डकी रिभर बेसिनमा पर्ने मध्ये स्याङ्जामा सवैभन्दा बढी विजुली उत्पादन हुन्छ । स्याङ्जामा उत्पादन हुने १ सय ४९ मेगावाट विजुली राष्ट्रिय प्रशारणमा जोडिएको छ । प्राधिकरणका अनुसार १ सय ४४ मेवाको कालिगण्डकी ए स्याङ्जामा पर्दछ ।
त्यस्तै सो वेसिनमै पर्ने पाल्पाको शुन्य दशमलव ८ मेवा विजुली राष्ट्रिय प्रसारणमा छ भने ९२ मेगावाटको मकवानपुरमा, ८३ मेवाको लमजुङ, ६९ मेवाको विजुली तनहुँमा उत्पादन हुने गरेको छ ।
गण्डकी रिभर वेसिन अन्तरगत नुवाकोटमा ४३ दशमलव १ मेवा र रसुवामा २७ मेवाको विद्युत उत्पादन हुँदै आएको छ । गण्डकी रिभर बेसिनका नवलपरासी र मकवानपुरमा विण्ड सोलार मिनी ग्रीड पाइलट प्रोजेक्टबाट पनि विद्युत उत्पादन हुँदै आएको छ । ती जिल्लामा सोलार विण्ड हाइव्रिड सिस्टम प्राक्टिकल एक्सन नेपालले नवलपरासीको धउवादीमा सोलार जडान गरेको हो । त्यस्तै सो पाइलट प्रोजेक्ट सफल भएको अवस्थामा सम्भावना भएका अन्य क्षेत्रमा पनि जडान गरिने बताइएको छ ।
गण्डकी वेसिनकै मुस्ताङमा सोलार माइक्रो हाइड्रो मिनी ग्रीड साइन्क्रोनाइजेशन प्रोजेक्ट बन्दै छ । बाग्लुङमा नेपालकै सवैभन्दा ठूलो माइक्रो हाइड्रो मिनी ग्रीड संचालनमा रहेको इसिमोडले जानकारी दिएको छ ।
इसिमोडका अनुसार गण्डकी वेसिन क्षेत्रमा रहेका ७३ प्रतिशत घरपरिवारको मात्र विजुलीमा पहुँच छ । वेसिनभित्र पर्ने जिल्लाका २० प्रतिशत जनता अहिलेपनि विजुलीको पहुँच बाहिर छन् । जुन विशेषगरी हिमाली जिल्लामा छन् । सो वेसिनमा पर्ने जिल्ला मध्ये कास्कीका धेरै परिवार राष्ट्रिय प्रशासरणमा पहुँच छ । सो जिल्लाको ९३ प्रतिशतको पहुँच विजुलीमा छ ।
हिमालयन एड्याप्सन वाटर एण्ड रिसाइलिएन्स रिसर्च (हाई अवेर) का अनुसार गण्डकी बेसिनमा विद्युत लाइटिङ ज्यादै कम खपत गरिन्छ । सो क्षेत्रका ७१ प्रतिशतले आगो बालेर खाना बनाउँछन् भने २१ प्रतिशतले एलपी ग्याँस र ६ प्रतिशतले बायो ग्याँस तथा १ प्रतिशत जनताले मात्र विजुलीमा खाना पकाउँछन् ।
गण्डकी बेसिनमा १९ ओटा जिल्ला छन् । जसमध्ये हिमाली भेगका ४, पहाडका १२ र तराइका ३ जिल्ला छन् ।