Logo

स्वदेशी पूँजीमै कालिकोटमा ४२० मेवाको जलविद्युत आयोजना बन्दै, ४२ अर्व लगानी

स्वदेशी पूँजीमै कालिकोटमा ४२० मेवाको जलविद्युत आयोजना बन्दै, ४२ अर्व लगानी


रक्षा रेग्मी
0
Shares

काठमाडौं । कालिकोटमा स्वदेशी लगानीमा ४ सय २० मेगावाटको जलविद्युत आयोजना बन्ने भएको छ । शतप्रतिशत स्वदेशी लगानीमा बन्न लागेको यो दोस्रो ठूलो जलविद्युत आयोजना हो । यस अघि ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माणधिन अवस्थामा रहेको छ ।

एससी पावर कम्पनीले पूर्ण स्वदेशी लगानीमा बनाउने गरी ४ सय २० मेगावाटको जलविद्युत आयोजना निर्माणको भर्खरै मात्र स्वीकृति लिएको उद्योग विभागको अनुमति शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । ‘सो कम्पनीले कालिकोट जिल्लामा आयोजना निर्माण गर्नेगरी विभागमा प्रस्ताव पेश गरेको थियो,’ उनले भने, ‘निर्माणका लागि सम्भावना देखिएकाले विभागले स्वीकृति दिएको हो ।’

कम्पनीले साउन ३० गते आयोजना निर्माणको लागि स्वीकृति पाएको हो । कम्पनीले उद्योग विभागमा साउनको पहिलो साता प्रस्ताव  पेस गरेकोमा उक्त प्रस्ताव उपर छलफल गरी अन्तिममा स्वीकृति दिइएको विभागको भनाइ छ । विभागका अनुसार उक्त आयोजनाको मुख्य लगानीकर्तामा हरिचन्द्र शाह रहेका छन् ।

कम्पनीले ४२ अर्व १० करोड रुपैयाँ लगानीमा जलविद्युत आयोजना निर्माण सम्पन्न गर्नेगरी विभागबाट स्वीकृति लिएको छ । कम्पनीले विभागमा पेश गरेको प्रस्ताव अनुसार आयोजनाको  स्थिर पूँजी ४१ अर्व ४० करोड रुपैयाँ रहेको छ भने चालु पूँजी  ७० करोड रुपैयाँ रहेको छ ।

सो आयोजना निर्माणसँगै ८० जनाले प्रत्यक्ष रोजगारी  पाउने छन् । साथै आयोजना संचालनमा आएसँगै २ सय केभीए विजुली खपत हुने बताइएको छ ।

उद्योग विभागका अनुसार चालु आर्थिक बर्षमा उद्योग दर्ता उत्साहजनक भएको छ । भुकम्प तथा नाकाबन्दीले नेपालमा लगानी गर्न हच्किएका लगानीकर्ता विस्तारै आकर्षित हुन थालेको विभागका महानिर्देश्क महेश्वर न्यौपानेले बताए । उद्योग विभागका अनुसार चालु आर्थिक बर्ष (२०७३÷ ७४) मा  ५७ ओटा उद्योग दर्ता भएका छन् । ती मध्ये विदेशी लगानीका ४६ र अन्य स्वदेशी लगानीका उद्योग दर्ताका लागि प्रस्ताव गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्