Logo

निगमको लापरवाहीले बजारमा ‘पेट्रोल’ अभाव, जताततै लाइन बढ्यो

निगमको लापरवाहीले बजारमा ‘पेट्रोल’ अभाव, जताततै लाइन बढ्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमको लापारवाहीले गर्दा बजारमा फेरी पेट्रोलिमय पदार्थको अभाव देखिएको छ । बजारमा दैनिक साढे ४ लाख लिटर पेट्रोलियम आवश्यक परेपनि निगमले विदाको दिनमा वितरणकार्य रोके पछि बजारमा अभाव देखिएको हो ।

निगमसँग आवश्यक मात्रामा पेट्रोलियम भएपनि विदामा दिन वितरण बन्द गर्दा बजारमा कृतिम रुपमा अभाव सिर्जन हुने गरेको छ । हिजोको विदामा निगमले पेट्रोलिमय वितरण कार्य बन्द गर्दा आज पेट्रोल पम्पमा ठूलो लाइन देखिएको छ । दैनिक रुपमा उपभोक्तासँग प्रत्यक्ष जोडिएको पेट्रोलको वितरणकार्य विदाको दिन बन्द गर्दा तत्काल त्यसको असर देखिएको हो ।

petrol_line

 

निगमले माग अनुसार पेट्रोलियम पदार्थ बजारमा नपठाउँदा समस्या सिर्जना भएको नेपाल पेट्रोलियम डिलर्श एशोसियशनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । ‘बजारमा दैनिक ३ लाख लिटरभन्दा बढी पेट्रोलको माग छ,’ उनले भने, ‘तर, निगमले लामो समय विदा हुँदा पनि त्यसलाई कभर गर्ने गरी पेट्रोलियम दिँदैन ।’ बजारमा पेट्रोलियमको अभाव हुन नदिन निगमले बन्दको दिनलाई समेत पुग्ने गरी अघिल्लो दिनमै आपूर्ति बढाउनु पर्ने उनको माग छ ।

हाल निगमले बजारमा दैनिका साढे ४ लाख लिटर पेट्रोलियम बजारमा पठाइरहेको बताउँदै आएको छ । तर, लामो समय विदा हुँदा पनि सोही मात्रामा पठाउने गरेकाले बजारमा कृतिम रुपमा समस्या सिर्जना भएको छ । ‘यदि ३ दिन लगातार विदा हुन्छ भने निगमले अघिल्लो दिनमै कम्तीमा ९ लाख लिटर पेट्रोल बजारमा पठाउनु पर्छ,’ उनले भने, ‘तर निगमले लामो समय बन्द हुदा पनि साविककै मात्रामा पेट्रोलियम पठाउँछ ।’

प्रधानका अनुसार सरकार र आयल निगम प्रति जनताको विश्वास नभएकाले पनि केही हुने वित्तिकै उपभोक्ताहरु लाइनमा बस्न जाने अवस्था सिर्जना भएको हो । ‘निगमले निरन्तर रुपमा पेट्रोल दिन्छ भन्ने विश्वास उपभोक्तामा छैन,’ उनले भने, ‘तसर्थ उपभोक्ताहरु सामान्य सर्टेज हुने वित्तिकै लाइन बस्न गइहाल्छन् ।

निगमसँग तेल प्रशस्त भएको तर विदाको दिन बजार नपठाउँदा समस्या देखिएको निगमको थानकोट डिपो प्रमुख रविन शर्माले बताए । ‘हामीले हिजो विदा परेकाले बजारमा तेल पठाएनौं,’ उनले भने, ‘जसको असर आज देखिएको हो ।’ साथै आज वेलुकासम्ममा बजारमा सहज रुपमा पेट्रोल पाइने उनको दावी छ ।

यसैगरी केही समय अघिसम्म लामो समय बजारमा पेट्रोलियम पदार्थ अभाव भएका कारण सामान्य समस्या आउने वित्तिकै उपभोक्ताहरु पम्पमा लाइन वस्न जान गरेको समेत शर्माले जानकारी दिए । साथै, पछिल्लो समय बाटोको समस्याले गर्दा पनि पेट्रोलियम ढुवानीमा समस्या देखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्