काठमाडौं । सरकारले कात्तिकदेखि सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ लागू गर्ने भएको छ । उक्त नम्बर प्लेट कार्यान्वयनको लागि सम्पूर्ण तयारी पुरा भइसकेको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले बताए । ‘इम्बोस्ट नम्बर प्लेट कार्यान्यवनमा ल्याउनका लागि कम्पनी समेत छनौट गरी काम शुरु गरिसकेका छौं,’ उनले भने, ‘अव संचालनमा रहेका सवारीसाधनको अध्यावधिक गरेर कार्यान्वयनमा ल्याउन मात्र बाँकी हो ।’ हाल छनौट भएको कम्पनीले विभागमा सफ्टवेयर जडान कार्य समेत अघि बढाएको अधिकारीले जानकारी दिए ।
विभागले इम्बोस्ड नम्बर प्लेट छपाइका लागि ग्लोवल टेण्डरमार्फत बंगलादेशी कम्पनी डेकोटार–टाइगर आइटीलाई छनौट गरेको हो । उक्त बोलपत्रमा विभिन्न ४ कम्पनीले सहभागिता जनाएका थिए । कम रकममा बनाउन आवेदन दिने पिङ्गाओ–जेकेजी कन्सोटियमलाई छनौट गर्नुपर्ने भएपनि सो कम्पनी प्राविधिक मुल्याङ्कनमा असफल भएपछि विभागले डेकोटारलाई छनौट गरेको हो ।
अहिले नेपालका सवारीसाधनमा १४ किसिमका नम्बर प्लेट कार्यान्वयनमा रहेका छन् । इम्बोस्ट नम्बर प्लेट लागूसँगै ४ किसिमका मात्र रहने भएको छ । जसनुसार सरकारी, निजी, भाडा र कुटनीतिक नियोगका लागि छट्टाछुट्टै नम्बर प्लेट दिइने छ । इम्बोस्ड नम्बर प्लेट लागूसँगै हाल संचालनमा रहेको पर्यटक नम्बर प्लेटलाई पनि निजी नम्बर प्लेट दिइने भएको छ । उक्त नम्बर प्लेटलाई मेसिनबाटै रिड गर्न सकिने छ । उक्त प्लेटमा सवारीसाधनको इञ्जिन नम्बर, च्यासिस नम्बरदेखि सवारीधनीको नाम र सम्पूर्ण विवरण समावेश गरिने भएकाले प्रहरीले मेशिनबाटै तत्काल रिड गर्न सक्ने अधिकारीले जानकारी दिए ।
यातायात व्यवस्था विभागका अनुसार हाल दुई पाङ्ग्रे र चार चापङ्ग्रे गरी २० लाखभन्दा बढी सवारीसाधन संचालनमा छन् । ती सवारीसाधनमा क्रमश इम्बोस्ट नम्बर प्लेट लागू गरिने छ । तर पहिलो चरणमा सरकारीबाट कार्यान्वयनमा ल्याइने योजना रहेको समेत विभागले जानकारी दिएको छ ।
इम्बोस्ड नम्बर प्लेट एक पटक कार्यान्वयनमा ल्याएपछि १० वर्षसम्म टिक्ने छ । यसमा मेसिनले रिड गर्न सक्नेगरी सवै विवरण उल्लेख गएिको हुन्छ भने एक पटक जडान गरेपछि निकाल्न मिल्दैन । उक्त नम्बर प्लेट कार्यान्वयनमा आएसँगै हाल भइरहेका मोटरसाइकल चोरीमा समेत नियन्त्रण हुने विभागको दावी छ । साथै, गलत नम्बर प्लेट गरी चोरी तथा अरुको हत्या गर्ने क्रम समेत रोकिने विभागको दावी छ ।