Logo

काठमाडौं टावर निर्माणमा ठेकेदारको लापरबाही, सम्झौता रद्द गर्ने महानगरपालिको चेतावनी

काठमाडौं टावर निर्माणमा ठेकेदारको लापरबाही, सम्झौता रद्द गर्ने महानगरपालिको चेतावनी


रक्षा रेग्मी
27
Shares

काठमाडौं । ठेकेदारको लापरबाहीले पुरानो बसपार्कमा बन्ने भनिएको काठमाडौं भ्यु टावरको निर्माण अझै शुरु हुन सकेको छैन । काठमाडौं महानगरपालिका र ठेकेदार कम्पनी जलेश्वर, स्वछन्द विकोइकाबीच भएको सझौता अनुसार गत चैतदेखि काम शुरु गर्नुपर्ने भएपनि हालसम्म काम नै शुरु नभएको हो ।

पुरानो बसपार्कको टावर बन्ने क्षेत्रमा हाल जस्ताको बार लगाएर मात्र राखेको छ । महानगरपालिकाले बारम्बार घचघच्याइरहँदा पनि कम्पनीले अझसम्म निर्माण शुरु नगरेको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘ टावर बन्ने स्थान जस्तापाताले बारेर राखेकोले कानुनी रुपमा काम गरेको देखिन्छ,’ कार्कीले भने, ‘त्यसले गर्दा पनि कम्पनी विरुद्ध कदम चालिहाल्न सकिएको छैन ।’

IMG_20160804_134808 (1)

तर महानगपालिकाले पहिलो चरणको कारवाही स्वरुप सोमवार ठेकेदार कम्पनीलाई प्रगती विवरण पेस गर्न भन्दै पत्राचार गरेको राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । कम्पनीलाई हालसम्मको कामको प्रगती विवरण यही साउनको अन्त्यसम्म बुझाउन निर्देशन दिइएको समेत उनले बताए । ‘साउनभित्रै प्रगती विवरण पेस नगरेको अवस्थामा ठेक्का रद्धको प्रक्रिया अघि बढाइने छ,’ प्रवक्ता कार्कीले भने । करिव ४ महिना अघि टावर बनाउन भन्दै बसपार्कको पार्किङ खुल्लामञ्चमा सारिए पनि हालसम्म निर्माणको काम नै शुरु गरिएको छैन ।

यता ठेकेदार कम्पनीले भने जमिन खन्ने पाइलिङ मेसिन नेपालमा नपाइएकोले काम शुरु गर्न ढिलाई भएको बताउँदै आएको छ । जलेश्वर, स्वछन्द र विकोइका प्रवन्धक मनोज भेटुवालले पाइलिङ मेसिन भारतबाट ल्याउँदा काममा ढिलाइ भएको बताए ।

काठमाडौं महानगरपालिकाले यसअघि पनि चाँडै नै निर्माण कार्य शुरु नगरे पार्किङलाई पून बसपार्क सार्ने चेतावनी दिएको थियो । तर, सो चेतावनी पछि पनि काम शुरु नभएपछि अहिले फेरी प्रगती विवरण पेस गर्न पत्राचार गरेको हो । साउनभित्र प्रगतीविरण पेस नगरेको अवस्थामा सम्झौता रद्द गर्ने महानगरको चेतावनी छ । महानगर र कम्पनीले २ बर्षभित्र टावर निर्माण सम्पन्न गर्ने भन्दै सम्झौता गरेका थिए ।

२०७२ को शुरुबाट टावरको निर्माण शुरु गरिने भनिएपनि भुकम्पले काम रोकिएको थियो । पहिला २५ तले बनाउने भनिएकोमा भुकम्पपछि टावर १२ तलाको बनाउने निणर्य गरिएको हो । त्यस्तै त्यसपछि नाकाबन्दीले गर्दा काम शुरु हुन सकेन । कम्पनीले बनाउन लागेको १२ तले काठमाडौं भ्यु टावरको निर्माण शुरु गरेको १८ महिनामा सक्ने लक्ष्य राखेको छ ।

बसपार्कमा बहुउद्देश्यीय भवन बनाउने विषय तत्कालीन कार्यकारी अधिकृत गणेश राईले २०६८ सालमा जारी गरिएको काठमाडौ घोषणापत्र उल्लेख गरिएको थियो । त्यस लगत्तै अर्का कार्यकारी अधिकृत केदारबहादुर अधिकारीको कार्यकालमा प्रस्ताव माग गरिएको थियो । त्यस्तै अधिकारी पछिका कार्यकारी अधिकृत लक्ष्मण अर्यालको कार्यकालमा सो टावरको विषयमा लागत अध्ययन टोली गठन गरिएको थियो । तर, विभिन्न कानुनी तथा अन्य बाधाले गर्दा भवन निर्माणमा ढिलाइ भएको हो । अहिले महानगरका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको कार्यकालमा पुनः सो कामलाई निरन्तरता दिइएको हो । तर कम्पनीले विभिन्न बहानामा काम शुरु गरेको छैन् ।

कम्पनीका प्रवन्धक भेटुवालका अनुसार सो टावरको लागत साढे ३ अर्व रुपैयाँ अनुमान गरिएको छ । बसपार्कमा बन्न लागेको टावरको निर्माण लागत सुरुमा ८१ करोड रुपैयाँ भनिएको थियो । नाकाबन्दी पछि सिमेन्ट, छडलगायत निर्माण सामग्रीको भाउ बढेकोले लागतमा बृद्धि भएको बताइएको छ ।

टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने बताइएको छ । टावरको सवैभन्दा तल अर्थात ग्राउन्ड फ्लोरमा अरनीको बसको पार्किङ र माथि २ ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ ।
सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने उनले जानकारी दिए । नेपाली संस्कृति झल्कने विभिन्न स्वदेशी उत्पादनका साथै विदेशी सामग्रीहरु राखिने छ ।
सो भवन मौलिकपन झल्काउन सोही अनुरुपका बस्तुहरु प्रतिविम्वको रुपमा राख्ने बताइएको छ ।
काठमाडौं महानगरपालिकाले टावर निर्माणका लािग जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरेको हो । दुई पक्षबीच गत फागुन २२ गते अन्तिम हस्ताक्षर भएको थियो । सम्झौता अनुसार ति कम्पनीले आफ्नो लगानीमा भवन निर्माण गरी ३० बर्षसम्म चलाउनेछन् । त्यस्तै सुरु गरेको ५ वर्षभित्र सो टावर बनाइसक्नुपर्ने तथा त्सपछिका २५ बर्ष सञ्चालन अवधि रहनेछ । ३० बर्षपछी कम्पनीले सो भवन काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्