Logo

मंसिरमा मात्रै ५ अर्ब ६८ करोडको लगानी प्रतिवद्धता, विदेशी लगानी सरकारी लक्ष्यनजिक

मंसिरमा मात्रै ५ अर्ब ६८ करोडको लगानी प्रतिवद्धता, विदेशी लगानी सरकारी लक्ष्यनजिक



काठमाडौं । चालु आर्थिक बर्षको मंसिर महिनामा मात्रै नेपालमा स्वदेशी तथा विदेशी गरी झण्डै पौने ६ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले हालै सार्वजनिक गरेको एक तथ्यांक अनुसार यस अवधिमा विभिन्न परियोजनामार्फत ५ अर्व ६८ कराेड रुपैयाँ बराबरकाे लगानी प्रतिवद्धता आएको हो ।

विभागका अनुसार यस अवधिमा ३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी प्रतिवद्धता आउँदा २ अर्ब २५ करोड रुपैयाँ बराबर विदेशी लगानी प्रतिवद्धता आएको छ । यसरी मंसिरमै सवा २ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा नेपालमा विदेशी लगानी सरकारले यो बर्ष राखेको लक्ष्य नजिक पुगेको छ ।

सरकारले यो आर्थिक बर्ष ३८ अर्ब रुपैयाँ बराबर विदेशी लगानी भित्र्याउने लक्ष्य लिएको छ । त्यसमध्ये चालु आवको मंसिरसम्म मात्रै नेपालमा २० अर्ब ६० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आईसकेको छ ।

उद्योग विभागका अनुसार यस अवधिमा आएको विदेशी लगानीमार्फत १० हजार १ सय २० जनाले रोजगारी पाउने देखिएको छ ।

विभागका अनुसार चालु आवको मंसिरमा ठुला र मझौला १ १ र साना २९ परियोजना दर्ता भएका छन् । यता स्वदेशी लगानीको प्रस्तावकै कुरा गर्दा चालु आवको मंसिरसम्म नेपालमा झण्डै १ खर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव आईसकेको छ ।

उद्योग विभागका अनुसार चालु आवको मंसिरसम्म विभिन्न स्वदेशी परियोजनामार्फत ९४ अर्ब ९३ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL