काठमाडौं । मंगलबार बजार खुलेको सवा घण्टामै कारोवार बन्द भएको छ । बजार ५ प्रतिशतभन्दा बढीले उकालो लागेपछि बजार आजको लागि बन्द भएको हो ।
बजार खुलेको ४० मिनेटमै नेप्सेमा २ पटक सर्किट ब्रेक लागेको थियो । त्यसपछि ३० मिटेनका लागि बन्द भएको बजार पुनः खुल्ने वित्तिकै ५ प्रतिशतले बढेर आजका लागि बन्द भएको हो । नेप्से ८४ दशमलव ५१ अंकले बढेर १ हजार ७ सय ६० अंकमा पुगेर बन्द भएको छ । ८ दिनदेखि लगातार ओरालो लागोको नेप्से आज एकै पटक ५ दशमलव शुन्य ४ प्रतिशतले बढेको हो ।
बजारमा सवै समुहका परिसुचक उच्च रुपमा बढेका छन् । जसमध्ये बैंकिङ समुहको परिसुचक केही समय यताकै उच्च ९६ अंकले बढेको छ । यसैगरी बीमा समुहको परिसुचक पनि ५ सय अंकभन्दा बढीले उकालो लागेको छ ।
बीमा र होटल समुह पनि १ सय अंकभन्दा बढीले उकालो लागेका छन् । बजार सवा घण्टामै बन्द भएकाले कारोवार रकम भने बढी हुन सकेन । आज २९ करोड ८३ लाख रुपैयाँको ३ लाख १० हजार कित्ता सेयर मात्र खरिदविक्री भएको छ ।
नेपाल धितोपत्र बोर्डले कालोधन छानविन समिति खारेज गर्ने वित्तिकै बजार उच्च रुपमा उकालो लागेको छ । कालोधन छानविनको डरले अत्तालिएका लगानीकर्ता सो सम्बन्धी छानविन समिति खारेज हुने वित्तीकै पुनः हौसिएका छन् ।