काठमाडौं । नेपालका म्यानपावर व्यवसायीले रोजगारदाताले माग गरे अनुसार काम दिन सकेका छैनन् । रोजगारदाताले नेपालबाट बढी कामदार माग गरेपनि म्यानपावर व्यवसायीले सोही अनुरुप पठाउन सकेका छैनन् ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा विभिन्न देशका रोजगारदाताले कुल १२ लाख २९ हजारभन्दा बढी नेपाली कामदार माग गरेका थिए । तर, नेपालबाट जम्मा ४ लाख १८ हजार कामदारमात्र रोजगारीमा गएको देखिन्छ । जसमध्ये म्यानपावर कम्पनीमार्फत ३ लाख ९९ हजार कामदारमात्र गएका छन् । अन्य कामदार भने व्यक्ति रुपमा र बैधानिकीकरण भएर गएको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो केही वर्ष यता विदेशी रोजगारदाताले नेपाली कामदार माग गर्ने क्रम बढेको छ । आव २०७०/७१ मा ११ लाख २५ हजार नेपाली कामदारको लागि विभागले पूर्व स्वीकृति दिएको थियो । गत आवमा त्योभन्दा १ लाखबढी अर्थात १२ लाख २९ हजार जना कामदारको माग विभागबाट स्वीकृति भएको छ । तर, पछिल्लो समय बैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा भने गिरावट आएको छ । आव २०७१/७२ को तुलनामा गत आवमा वैदेशिक रोजगारीमा जाने कामदार १ लाख १० हजारभन्दा बढीले घटेको विभागको तथ्याङ्कले देखाएको छ ।
कतिपय मुलुकबाट हुचुवाको भरमा मागपत्र आउँदा माग अनुसार कामदार रोजगारीमा नगएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष तथा स्काई ओभरसिजका संचालक बलबहादुर तामाङ बताउँछन् । ‘व्यवसायीहरुले बढी माग देखाउन कम्पनीको लेटरहेडमा बढी संख्या देखाएर ल्याउँछन्,’ उनले भने, ‘विशेषगरी कतारलगायतका खाडी मुलुकबाट त्यसरी मागपत्र ल्याउने गरिएको छ ।’ जसको असर माग र आपूर्तिमा देखिएको उनको भनाइ छ ।
रोजगारदाताले नेपालमा पाउनेभन्दा फरक खालका कामदार माग गरेकाले पनि पठाउन नसकिएको सम्बद्ध रोजगार व्यवसायीहरु बताउँछन् । ‘रोजगारदाताले कन्स्ट्रक्सन लेवर वा दक्ष कामदार माग गर्दै आएका छन्,’ एक व्यवसायीले भने, ‘नेपाली कामदारहरु कन्स्ट्रक्सन लेवरमा जान मान्दैनन् भने रोजगारदाताले खोजेजस्तो दक्ष कामदार पाईँदैन ।’
रोजगारदाताले मेशन, कार्पेन्टर, स्कापफोल्डर, हेभी ड्राइभर, मार्केटिङ, एकाउण्टेन्ट र जनरल लेवरमा कामदार माग गर्दै आएका हुन्छन् । तर, उनीहरुले खोजेकोजस्तो दक्ष कामदार नेपालमा नपाइने सम्बद्ध व्यवसायीहरुको भनाइ छ । व्यवसायीका अनुसार नेपालमा विशेषगरी मेशन, स्कापपोल्डर, कार्पेन्टर तथा हेभी ड्राइभरमा रोजगारदाताले माग गरे अनुसारको कामदार पाईँदैन । उनीहरुले सवैभन्दा बढी जनरल लेवरमा माग गरेपनि कठिन काम र कम तलव पाइने भएकाले कामदारहरु जान नमान्ने व्यवसायीहरु बताउँछन् ।
सरकारले गतवर्ष देखि बजेट वक्तव्यमा रोजगारीमा जाने कामदारलाई दक्ष बनाउन क्षेत्रीयस्तरमा शीप विकास तालिम केन्द्र स्थापना गर्ने बताएको थियो । तर, तालिम केन्द्र हालसम्म पनि संचालनमा आउने सकेको छैन । सरकारी घोषणाहरु कागजमा मात्रै सिमित हुँदा नेपालबाट रोजगारदाताले खोजेजस्तो कामदार पठाउन नसकिएको व्यवसायीहरुको गुनासो छ ।
पछिल्लो समय फ्रि भिसा फ्रि टिकटले गर्दा पनि रोजगारीमा जाने कामदार घटेको छ । ‘कामदारहरु विज्ञापन हेरी फ्रि भिसा फ्रि टिकटमा रोजगारीमा जाने भन्दै आउँछन्,’ ती व्यवसायीको भनाइ थियो, ‘हामीले विदेशबाट मागपत्र किनेर ल्याएका हुन्छौं कामदारलाई कसरी सित्तैमा पठाउन सकिन्छ ?’ कतिपय कामदारहरु रोजगारीमा जान चाहेपनि सरकारको फ्रि भिसा फ्रि टिकट नीतिका कारण त्यतिकै फर्कने गरेका छन् ।