Logo

फोहोरबाट ग्यास उत्पादन साउनमै थालिने, मेसिन यसै साता आइपुग्दै

फोहोरबाट ग्यास उत्पादन साउनमै थालिने, मेसिन यसै साता आइपुग्दै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । फोहोरबाट ग्यास उत्पादन गर्ने प्रविधि १ हप्ताभित्र भित्र्याइने भएको छ । मेसिन भन्सारमा आइपुगी सकेको काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । ‘मेसिन आइपुगेको केही दिनमै ग्यास जडान गरेर साउनको अन्त्यसम्ममा सञ्चालन गरिसक्छौं ’ उनले भने ।

मुलुकलाई आगामी २ बर्षभित्र लोडसेडिङमुक्त बनाउने योजना अनुरुप काठमाडौं महानगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको हो । युरोपियन युनियन र महानगरपालिकाले ‘पाइलट प्रोजेक्ट’का रूपमा फोहोरबाट ग्यास उत्पादन गर्न लागेको हो । जसमा इयुको ८० र महानगरको २० प्रतिशत लगानी हुने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । यसका लागि करीव २ करोड लाग्ने बताइएको छ ।

जैविक फोहोरलाई सो प्लान्टमा हालेर पेलेपछि ग्यास निस्कन्छ । सो ग्यासबाट खाना पकाउने ग्यास निस्कनुका साथै बिजुली उत्पादन पनि गर्न सकिन्छ । भात, दाल, तरकारीजस्ता भान्साबाट आउने फोहोर, तरकारी बजार, फलफूल बजारका फोहोर छुट्याएर त्यसबाट ग्यास उत्पादन गरिन्छ ।यसमा प्लास्टिक, फलाम, तारलगायत फोहोर भने काम लाग्दैन । टेकुको ‘ट्रान्सपोर्ट एक्सन स्टेसन’ मा दुई डाइजेस्ट प्लान्ट राखिनेछ । प्लान्टमा फोहोर राखेर पेलिने बताइएको छ ।

प्लान्टमा  तीनवटा छुट्टाछुट्टै पाइप जडान गरिएको हुने बताइएको छ । छुट्टाछुट्टै पाइपबाट ग्यास, पानी र फोहोर झर्छन् । त्यस्तै ग्यास जम्मा गर्न बेलुन राखिनेछ । पानी र फोहोर टयांकीमा जम्मा हुनेछन् । सो प्लान्टमा दिनहुँ ३ टन फोहोर पेलिने बताइएको छ । त्यसबाट २ सय ५० एमक्यु (करिब ९६ किलो) ग्यास, २ सय केजी मल र १५ सयदेखि ३ हजार लिटरसम्म पानी उत्पादन हुने छ ।

कार्कीका अनुसार ९६ किलो ग्यासबाट कम्तीमा १४ किलोवाट बिजुली उत्पादन गर्न सकिन्छ । ग्यास सिलिन्डरमा भर्न समस्या हुने भएकोले विजुली निकाल्न लागिएको बताइएको छ । फोहोर पेलेर निस्केको ग्यास, पानी र मल पून प्रयोग गर्न मिल्छ । फोहोरबाट निस्केको पानी गाडी धुन, सिंचाई, फूलमा राख्न प्रयोग गर्न सकिन्छ । तर, पिउन भने योग्य नहुने बताइएको छ । त्यस्तै फोहोरबाट मलचाहिँ कृषि कार्यमा प्रयोग गर्न सकिन्छ ।

राज एन्ड रिवाज सप्लायर्स प्रालि, नेप्लिज वेस्ट र सिवान जेभीले कामको जिम्मा पाएका छन् । कम्पनीले १ करोड ८२ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । ग्यास उत्पादन गर्ने डाइजेस्ट प्लान्ट भारतको पुनामा बनेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । हाल वैकल्पिक ऊर्जाका रूपमा भारत, चीन, जापानलगायत विकसित देशले यसको प्रयोग गर्दै आएका छन् ।

उपत्यकामा दिनमा ५ सय टन फोहोर उत्पादन हुन्छ । जसमध्ये ६३ प्रतिशत जैविक र अन्य अजैविक रहेको बताइएको छ । यो प्रोजेक्ट सफल भयो भने यसलाई विस्तार गर्न सकिने प्रवक्ता काकीले जानकारी दिए । फोहोरबाट उत्पादन हुने विजुली महानगरको कार्यलयका साथै स्ट्रिट लाइटका लागि प्रयोग गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्