Logo

टेलिफोन सेवाको पल्स रेटमा अध्ययन शुरु, १ वा ५ सेकेण्ड बनाइँदै

टेलिफोन सेवाको पल्स रेटमा अध्ययन शुरु, १ वा ५ सेकेण्ड बनाइँदै


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिफोनको ‘पल्स रेट’ घटाउनका लागि प्रक्रिया अघि बढाएको छ । परामर्शदाता छनौट गरी सो सम्वन्धी अध्ययन शुरु गरेको पाधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘परामर्शदाताले हाल एसिया तथा विश्वका अन्य राष्ट्रहरुमा पल्स रेटको टे«न्डबारे अध्ययन गरिरहेको छ,’ उनले भने, ‘सोहीअनुरुप नेपालमा पल्स रेट लागु गरिने छ ।’  साथै अध्ययनकार्य शुरु भएको र त्यसको रिपोर्ट चाँडै नै आउने उनको भनाइ छ ।

प्राधिकरणले पल्स रेट घटाउने तथा सवै सेवा प्रदायकको रेटमा एकरुपता ल्याउने तयारी थालेको हो । सो सम्बन्धमा ताराकुञ्ज इन्जिनियरिङ रिसर्च प्रालिले अध्ययन गरिरहेको छ । आगामी आर्थिक बर्षदेखि सवै टेलिफोन सेवा प्रदायकहरुको पल्स रेटमा एकरुपता कायम गर्ने उद्देश्यसहित काम शुरु गरिएको अर्यालले जानकारी दिए ।
अर्यालका अनुसार नेपालका सेवा प्रदायकहरुले बढी पल्स रेट लागू गर्दै आएकोले त्यसलाई व्यवस्थित बनाउन लागिएको हो । ‘सेवा प्रदायकले बढी पल्स रेट राखेका कारण सेवाग्राही ठगिएका छन्,’ उनले भने ‘उपभोक्ताहरुको समस्या समाधानका लागि पल्स रेट घटाउन लागेका छौं ।’

पल्स रेट कति राख्ने भन्ने विषयमा भने निश्चित नभएको अर्यालले जानकारी दिए ।  परामर्शदाताले एसिया  तथा विश्वका अन्य राष्ट्रका पल्स रेटको टे«न्ड बारे अध्ययन गरेर नेपालमा कति राख्दा उपयुक्त हुन्छ भन्ने परामर्श दिनेछ । उनका अनुसार हाल पल्स रेट १ वा ५ सेकेन्डको बनाउने सम्बन्धमा छलफल भइरहेको छ ।
नेपालमा सेवा प्रदायक अनुसार पल्स रेट फरक फरक छन् । नेपाल टेलिकमले मोवाइल सेवामा २० सेकेन्ड पल्स रेट राखेको छ । त्यस्तै लोकलमा २ मिनेट र एसटिडीमा २ मिनेट राखेको टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए ।

त्यस्तै एनसेलले मोवाइल सेवामा २० सेकेन्डको पल्स रेट राखेको छ । अन्तरराष्ट्रिय कलमा भने एनटीसि र एनसेलको पल्स रेट क्रमशः ६ सेकेन्ड र ६० सेकेन्ड रहेको छ ।
श्रीलंकमा १ र ६० सेकेन्डको पल्स रेट छ । त्यस्तै पाकिस्तानमा १, ३० र ६० सेकेन्ड, बंगलादेशमा १ र ६० सेकेन्ड तथा भारतमा सवै प्रदायकको १ सेकेन्डको पल्स रेट छ । लामो पल्स रेट राख्दा अपरेटरका लागि फाइदा हुन्छ । जति छोटो पल्स रेट भयो त्यती ग्राहकलाई फाइदा हुने छ ।

के हो पल्स रेट ?

पल्स रेट एक पटकको कलको अवधि अनुसार लाग्ने शुल्क हो ।  पल्स रेट सेवा प्रदायक तथा देश अनुसार फरकफरक हुन्छ । अन्य राष्ट्रको तुलनामा नेपालको विद्यमान पल्स रेट बढी छ । कल शुरु हुने वित्तिकै एक पल्स कम्प्युटरमा पठाइन्छ । २० सेकेन्ड पुगेपछि दोश्रो पल्स थपिन्छ । त्यस्तै ४० सेकेन्ड पछि तेस्रो । कल नसकिएसम्म पल्स रेट लगातार जोडिइरहन्छ । काउन्टरमा जम्मा भएका पल्सललाई १ पल्सको महसुलले गुणन गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL