Logo

नेपाली नागरिकसमेत घाइते भएको इजरायलमाथि हमासको आक्रमण : अहिलेसम्म के-के भए ?

नेपाली नागरिकसमेत घाइते भएको इजरायलमाथि हमासको आक्रमण : अहिलेसम्म के-के भए ?



काठमाडौं । इजरायलमा हमासले गरेको आक्रमणमा २५० जनाको मृत्यु भएको छ भने इजरायलको जवाफी कारबाहीमा २३० जनाको मृत्यु भएको बताइएको छ ।

अहिले ९८५ जना अस्पतालमा छन् । उनीहरुमध्ये कतिपयको अवस्था गम्भीर छ । इजरायली डिफेन्स फोर्सको आफ्नो सेनाले २२ स्थानमा चरमपन्थी समूहसँग लडिरहेको बताएको छ । दुई स्थानमा बन्धक जस्तै अवस्था रहेको उसले स्वीकार गरेको छ ।

गाजापट्टीबाट इजरायलमा दर्जनौं रकेट हानिएको थियो, जसमा परी मृत्यु हुनेको संख्या २५० नाघेको इजरायली स्वास्थ्य मन्त्रालयले बताएको छ ।
अहिलेसम्मको अवस्था

–आक्रमणमा पनि घाइते हुनेहरूमा नेपाली नागरिक समेत छन् । परराष्ट्र मन्त्रालयका अनुसार ९ जना नेपाली घाइते भएको पुष्टि भएको छ, जसमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

–आक्रमणपछि हमासका दर्जनौं हतियारधारी लडाकू दक्षिणी इजरायलमा घुसेका छन् ।

–प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भनेका छन्, यो युद्ध हो र यसको मूल्य चुकाउनु पर्छ । उनले सुरक्षा प्रमुखहरुको बैठकमा घुरपैठ गर्नेहरुलाई सफाया गर्न निर्देशन दिएका छन् ।

––कैयौं इजरायलीलाई बन्धक बनाएर गाजापट्टी लगिएको खबर छ ।

–इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले हमासको अखडाहरुमा जवाफी आक्रमण गरेको छ । गाजापट्टीमा हमासको १७ अखडा र ४ हेडक्वाटरमा इजरायलले हवाई आक्रमण गरेको छ ।
–विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुले आक्रमणको निन्दा गरेका छन् ।

–इजरायली टिभी च्यानल किबुट्ज बेइरीको डाइनिङ हलमा बन्धकहरूलाई उद्धार गरिएको छ ।

–अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वेस्ट बैंकमा शान्ति र स्थायित्व कायम गर्न अपिल गरेका छन्। उनले प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बाससँग कुराकानी पनि गरेका छन्। साउदी अरेबियाले प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व तत्काल बन्द गर्न अपिल गरेको छ।

–अमेरिकाका राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोनवार्ता गरेका छन् ।

–कुराकानीका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले इजरायलको साथमा उभिने र पूर्ण समर्थन रहने बताएका छन् ।

–इजरायलमा हमासले आक्रमण गरेपछि पश्चिमा राष्ट्रका साथै मध्यपूर्वका देशबाट पनि प्रतिक्रिया आइरहेका छन् ।

–टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायल र प्यालेस्टाइन दुवै पक्षलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

–हमासका प्रवक्ताले बीबीसीसँग इजरायलविरुद्धको उक्त आक्रमणमा आफ्ना सहयोगी इरानको समर्थन रहेको बताएका छन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्
MBL