Logo

साउनभित्रै क्लियर बैंक थपिने, इन्भेष्टर आइडी भदौंबाट, यस्ता छन् अन्य सुधार

साउनभित्रै क्लियर बैंक थपिने, इन्भेष्टर आइडी भदौंबाट, यस्ता छन् अन्य सुधार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बजारको बढ्दो सेयर करोवारलाई केन्द्रित गरी २०७३ साउन महिना भित्रै क्लियर बैंक थप गरिने भएको छ । दैनिक रुपमा कारोवार रकम बढीरहेको अवस्थामा एउटा मात्र बैंकले नसक्ने भन्दै अन्य बैक थप गर्न बोर्डका अध्यक्षलगायतका पदाधिकारी, नेप्से र सिडिएका उच्च पदाधिकारी सहितको बैंठकले उक्त निर्णय गरेको हो । बोर्डले यस अघि पनि नेप्सेलाई कम्तीमा ३ वटा क्लियर बैंक बनाउन निर्देशन दिएको थियो ।

बढ्दो बजारको आयतनसँगै लगानीकर्ताहरुलाई सहज र सरल रुपमा कारोबार र कारोबारपश्चातको फछर्यौट तथा राफसाफ चुस्त बनाउन थप क्लियर बैंक आवश्यक रहेको बोर्डद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । साथै क्लियर बैंक थपसँगै बजारमा देखिएका समस्या एवं सरोकारवालाबाट प्राप्त गुनासो समाधान गर्न सहज हुने बोर्डको विश्वास छ ।

यसैगरी बोर्डले लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडले प्रतिवद्धा जायर गरेको छ । बजारमा गैरकानुनी कारोवार बढरिहेको भन्दै लगानीकर्ताको पहिचान गर्ने उद्देश्य अनुरुप इन्भेष्टर आईडी लागू गर्न लागेको हो । साथै उक्त परिचयपत्रलाई भदौं १५ गतेसम्म अन्तिम रुप दिइने भएको छ ।

धितोपत्र कारोबार राफसाफतथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा T+2  नै भुक्तानी गर्न लगाउने र T+3 मा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्रिकर्ता खातामा रकमजम्मा हुने व्यवस्थागर्ने गरी लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिन भित्र धितोपत्र तथा रकम पाउने व्यवस्थाको पूर्ण पालना गराइने भएको छ । यसैगरी, धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधार सहित मार्जिन लेण्डिङ, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिएकाले सो सम्बन्धमा नेप्सेले साउनभित्रै सुझाव पेश गर्ने भएको छ ।

यसैगरी काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकाले सो प्रतिवेदन तयार गरी आवश्यक कार्य अघि बढाउन समेत आग्रह गरेको छ । नेप्सेले धितोपत्रबजारको सदस्यता तथा कारोबार विनियमावली,२०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापनगर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी स्वीकृतिका लागि भदौं १५ भित्रै पेश गर्ने भएको छ ।

पछिल्लो समय बजारमा दैनिक २ अर्ब रुपैयाँ बरावरको कारोबार भैरहेको हुनाले सो अवस्थामा सेटलमेन्टको जोखिम समेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्नका लागि नेप्सेले कार्यविधी तयार गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL