Logo

पाँच वर्षमा ५ गुणाले उकालो लाग्यो नेप्से, न्यून ब्याजदर र तरलताले पूँजी बजारमा आकर्षण

पाँच वर्षमा ५ गुणाले उकालो लाग्यो नेप्से, न्यून ब्याजदर र तरलताले पूँजी बजारमा आकर्षण


रामराजा श्रेष्ठ
27
Shares

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को अन्तमा आइपुग्दा नेप्से परिसुचक १ हजार ७ सय १८ दशमलव १५ अंकमा पुगेर रोकिएको छ । चालू आवको नेप्से कारोवार हुने अन्तिम दिन हिजो अर्थात बिहिबार परिसुचक झण्डै २८ अंकले बढ्दा १ हजार ७ सय माथी पुगेर अडिएको हो ।
विगत ५ आर्थिक वर्षको तुलना गर्ने हो भने सो अवधिमा नेप्से परिसुचक झण्डै ५ गुणाले बढेको छ । आर्थिक वर्ष २०६८/६९ को अन्तमा ३ सय ८९ दशमलव ७२ मा बन्द भएको नेप्से परिसुचक आव २०७२÷७३ को अन्तसम्ममा आइपुग्दा उच्च रुपमा बढ्न गएको हो ।

share_5 yearsआर्थिक वर्ष २०७२/७३ को अन्तसम्ममा आइपुग्दा बीमा समुहको परिसुचक सवैभन्दा बढी ८ हजार ७ सय २२ अंकमा पुगेको छ । यसैगरी नेप्सेमा प्रभाव पार्ने बैंकिङ समुहको परिसुचक पनि १ हजार ५ सय ७३ अंकमा पुगेको छ । अरु समुहका परिसुचक पनि सोही अनुरुप उकालो लागेका छन् ।

गत वर्षकै तुलना गर्ने हो भने पनि नेप्से परिसुचक दोब्बरले बढेको छ । आव २०७१/७२ को अन्तमा परिसुचक ९ सय ६१ दशमलव २३ अंक रहेकोमा आव २०७२/७३ को अन्तमा आइपुग्दा उच्च रुपमा बढेर  १ हजार ७ सय १८ अंकमा पुगेको छ ।
पछिल्लो समय बजारमा तलरता बढी भएका कारण सेयर बजारमा लगानी बढेको हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडका प्रवन्ध संचालक अम्बिकाप्रसाद पौडेलले बताए । ‘अन्य क्षेत्रमा लगानीको लागि अवसर नुहँदा सजिलो र भरपर्दो लगानीको रुपमा पूँजी बजार आएको छ,’ उनले भने, ‘सतर्थ नेपालको आर्थिक सुचकाङकहरु नराम्रो हँदा पनि सेयर बजार उकालो लागिरहेको छ ।’

हाल बजारमा नयाँ लगानीकर्ता थपिएकाले बजारलाई माथी उकास्न सहज भएको समेत उनको भनाइ छ । यसैगरी नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्स्चेञ्चले पनि पूँजी बजारमा नयाँ प्रबृधि भित्र्याएका कारण सहज रुपमा धेरैले लगानी गर्न पाएका छन् ।

पौडेलका अनुसार भर्खरै राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पूँजी बजारलाई थप स्थायीत्व राख्न कायम गर्ने बताउँछन् । ‘नीति अनुसार बैंक वित्तीय संस्थाले पूँजी बजारमा थप लगानी गर्न पाउनेछन्,’ उनले भने, ‘अव आगामी दिनमा बैंकहरुले सेयरको लागि छुट्टै प्रडक्ट ल्याउने छन् ।’ जसले गर्दा बजारलाई स्थायीत्व राख्न ठूलो मद्दत मिल्ने उनको दावी छ ।

यसैगरी नेपाल इन्भेष्टर फोरमका अध्यक्ष आत्मराम घिमिरे पनि न्यून ब्याजदर र अधिक तरलता भएकै कारण सेयर बजार बढिरहेको बताउँछन् । ‘हाल लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्दै आएका छन्,’ उनले भने, ‘जसको प्रभावले बजार दैनिक रुपमा बढिरहेको छ ।’ साथै सेयर बजारमा सामाजिक आर्थिक सुचकले मात्र प्रभाव नपार्ने उनको दावी छ । पछिल्लो समय सेयर बजार प्रति लगानीकर्ताको मनोविज्ञान समेत सकारात्म हुँदै गएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्