Logo

तीन अर्बको लगानीमा शुभश्री अग्नि सिमेन्ट आउँदै, क्लिङ्कर र सिमेन्ट दुवै उत्पादन हुने

तीन अर्बको लगानीमा शुभश्री अग्नि सिमेन्ट आउँदै, क्लिङ्कर र सिमेन्ट दुवै उत्पादन हुने


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । शुभश्री अग्नि सिमेन्ट इण्डष्ट्रीजले सिमेन्ट उत्पादन गर्ने भएको छ । देशको पूनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्य अनुरुप कम्पनीले सिमेन्ट तथा क्लिङकर उत्पादन गर्न लागेको हो ।

हाल क्लिङ्कर उत्पादनको लागि मेसिन जडान कार्य अन्तिम चरणमा पुगेको र केही समयभित्रै उत्पादन थालिने कम्पनीका प्रवन्ध निर्देशक तथा सिमेन्ट उत्पादक संघका महासचिव डा. ताराप्रसाद पोखेलले बताए । ‘हाल क्लिङ्कर उत्पादनको लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको छ,’ उनले भने, ‘२ देखि ६ महिना भित्र संचालनमा ल्याइने छ ।’

उद्योगले दैनिक ७ देखि ८ सय टन क्लिङ्कर उत्पादन गर्ने भएको छ । जसका लागि अघाखाँचीमा क्लिङकर खानी संचालनमा ल्याएको छ । कम्पनीले क्लिङकर तथा सिमेन्ट दुवै खालका उद्योग अघाखाँचीमै संचालन गर्ने भएको छ । आफ्नो सिमेन्ट उद्योगलाई चाहिने क्लिङकर आफैले उत्पादन गर्ने उद्देश्य अनुरुप कम्पनीले क्लिङकर उद्योग संचालनमा ल्याउन लागेको हो ।

सिमेन्ट तथा क्लिङ्कर उद्योग संचालनका लागि ३ अर्ब रुपैयाँ लगानी हुने बताएको छ । जसमध्ये क्लिङ्कर उद्योगका लागि २ अर्ब २५ करोड र सिमेन्ट उद्योगका लागि ७५ करोड रुपैयाँ लगानी हुने प्रवन्ध निर्देशक पोखरेलले जानकारी दिए । केही महिना भित्रै क्लिङ्कर उत्पादन गरिने भएपनि सिमेन्ट उत्पादनका लागि भने केही समय लाग्ने उनको भनाइ छ ।

मेसिन आयातका लागि जर्मनी कम्पनीसँग सम्झौता

कम्पनीले सिमेन्ट उत्पादनका लागि आवश्यक मेसिन औजार जर्मनीबाट ल्याउने भएको छ । उक्त मेसिन खरिदका लागि शुभश्रीले जर्मनी कम्पनी लोत्सेसँग सम्झौता गरेको छ । कम्पनीले मंगलबारमा मेसिन खरिदका लागि लोत्सेसँग सम्झौता गरेको हो । जस अनुसार जर्मनी कम्पनी लोत्सेले मेसिन सप्लाइका साथै जडान समेत गरिदिने छ । सिमेन्ट उद्योगको मेसिन खरिदका लागि भर्खरै मात्र सम्झौता भएको र उक्त मेसिन ल्याएर जडान गर्न १ वर्ष जति लाग्ने कम्पनीको भनाइ छ । क्लिङ्कर उद्योग तत्काल संचालनमा आएपनि सिमेन्ट उत्पादन भने १ बर्ष पछि मात्र हुने छ ।

ओपीसी र पीपीसी दुवै सिमेन्ट उत्पादन

शुभश्रीले अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) तथा पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पीपीसी) दुवै खालका सिमेन्ट उत्पादन गर्ने भएको छ । प्रायःजसो कम्पनीले ओपीसी वा पीपीसीमध्ये कुनै एक सिमेन्ट मात्र उत्पादन गर्दै आएकोमा शुभ श्रीले दुवै खालका सिमेन्ट उत्पादन गर्न लागेको हो । कम्पनीले ओपीसी र पीपीसी गरी दैनिक १ हजार २ यस टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ ।

१ सय ५० जनालाई रोजगारी

कम्पनी संचालनमा आएसँगै १ सय ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् । उद्योगले दक्ष र अदक्ष गरी १ सय ५० जनालाई रोजगारी दिने छ । बेरोजगारीका कारण दैनिक हजारौं युवा वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा कम्पनीले कामदारलाई स्वदेशमै रोजगारी दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL