Logo

सेयर बजारमा एनआरएनको लगानी भित्र्याउन समिति गठन, तीन महिनाभित्रै नियमावलीको मस्यौदा तयार

सेयर बजारमा एनआरएनको लगानी भित्र्याउन समिति गठन, तीन महिनाभित्रै नियमावलीको मस्यौदा तयार



काठमाडौं । धितोपत्र दोस्रो बजारमा गैर आवासिय नेपाली (एनआरएन)लाई पनि समावेश गराउन अध्ययन समिति गठन गरिएको छ । नेपाल धितोपत्र बोर्डमा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा उक्त समिति गठन गरिएको हो ।

उक्त समितिले धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासिय नेपालीलाई भित्र्याउन तथा उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन सहित नियमावलीको मस्यौदा तयार गर्नेछ ।

समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका छन ।

उक्त समितिले तीन महिना भित्र गैर आवासिय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्नेछ । यसका अलावा उक्त समितिले उक्त नियमावली कार्यान्वयनमा हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्नेछ ।

यसरी प्रस्तावित नियमावलीको कार्यान्वयन पश्चात धितोपत्र बजारमा लगानीकर्ताको संख्या वृद्धि भई तरलता समेत अभिवृद्धि हुने, धितोपत्र बजारको माग पक्ष बलियो हुने, बजारको अस्थिरता कम भइ मूल्य जोखिम कम हुने लगायतका सुधार पूँजी बजारमा हुने अपेक्षा बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL