काठमाडौं । धितोपत्र बोर्डले सेयर बजारमार्फत भित्रने कोलोधन नियन्त्रण गर्न एक अध्ययन कमिटि गठन गर्ने निर्णय गरेको छ । बोर्डको शुक्रबार बसेको संचालक समितिको बैंठकले उक्त छानविन कमिटि गठन गरेको हो ।
जस अनुसार तत्कालका लागि धितोपत्र बोर्डको व्यवस्थापनबाटै कमिटि गठन गरिने भएको छ । यस अघि सो सम्बन्धी नेपाल सरकारका विभिन्न निकायहरु सम्मिलित कमिटि गठन गर्ने बताए पनि तत्कालका लागि बोर्ड व्यवस्थापनबाटै गठन गर्ने निर्णय गरेको हो ।
बजारमा सेयरको अस्भाविक मूल्य बढेको देखिएपछि सो सम्बन्धमा छानविन गर्न बोर्डले कमिटि नै गठन गर्ने निर्णय गरेको हो । बजारमा केही सिमित लगानीकर्ताले साना लगानीकर्तालाई भ्रम पार्ने गरी गरिने चलखेललाई समेत उक्त कमिटिले अध्ययन गरी कारवाहीका लागि सिफारिस गर्ने छ ।
बार्डले कालोधनलगायत अन्य अबैध तरिकाबाट कमाएको रकम सेयर लगानी गरेको भएमा उक्त कमिटिले छानविन गर्ने छ । साथै, पूँजी बजारलाई स्वस्थ्य, पारदर्शी र विश्वसनीय बनाउन यस्तो कदम चाल्नु परेको बोर्डले जानएको छ । सर्वसाधारण लगानीकर्ताको हित रक्षाका लागि पनि यस्तो कदम चाल्नु परेको बोर्डको तर्क छ ।
बैंक तथा वित्तीय संस्थाहरुले नेपाल राष्ट्र बैंकले बुझाएको तथ्याङ्कमा कुलकर्जा प्रवाहको २ प्रतिशतमात्र सेयरमा लगानी भएको विवरण बुझाएपनि राष्ट्र बैंकको फितलो अनुगमनका कारण अन्य क्षेत्रमा प्रवाहित कर्जा समेत सेयर बजारमा लगानी भएको आशंका गरिएको छ । बोर्डले सो सम्बन्धमा छानविनका लागि कमिटिमा राष्ट्र बैंकलाई पनि संलग्न गराउने तयारी गरेको थियो । तर, पहिलो चरणमा बोर्ड आफैले छानविन गर्ने र आवश्यक परेमा अन्य निकायलाई पनि संलग्न गराइने बार्ड स्रोतले जानकारी दिएको छ ।
अघिल्लो सातादेखि बोर्डले सेयर बजारमार्फत कालोधन भित्रन थालेको आशंका र दवाव बढेपछि स्थलगत निरीक्षण थालेको थियो । उक्त स्थलगत सुपरीवेक्षणको प्रारम्भिक रिपोर्ट अनुसार सेयरको अवैधानिक कारोवार समेत हुने गरेको पाइएको छ । बोर्ड सुत्रका अनुसार विगत ४/५ वर्ष अघिदेखिको लेखापरीक्षण नभएका कम्पनीमा समेत लगानीकर्ताहरुले अन्धाधुन्द सेयरमा लगानी गरिरहेको भेटिएको छ । तर, नेपाल स्टक एक्सचेञ्जले त्यस्ता कम्पनीको सूचिकरण खारेज समेत नगरेको र कारोवार भइरहेको पाइएको छ ।